मिराजले आज नयाँ पार्टी घोषणा गर्दै


काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा आज (शनिबार) नयाँ पार्टी घोषणा हुँदैछ । उनले एक भिडियो जारी गरेर पार्टी खोल्ने जानकारी दिएका थिए ।
नयाँ बानेश्वरस्थित एभरेस्ट इन्टरनेसनल होटलमा विशेष पत्रकार सम्मेलनमार्फत दिउँसो १ बजे उनले यसबारे थप जानकारी गराउने तयारी गरेका छन् । उनले देशको अग्रगामी निकास र भाद्र २३-२४ को विद्रोहमा ७६ जनाको बलिदानले प्राप्त उपलब्धिको रक्षाका लागि नयाँ राजनीतिक पहलको घोषणा अनिवार्य भएको तर्क गरेका छन् ।
देश विषम परिस्थितिमा भएको ठहर गर्दै उनले अग्रगामी निकासका लागि नयाँ दृष्टिकोण ल्याउने दाबी गरेका छन् । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र विदेशमा भएका नेपालीलाई पनि मताधिकार दिनुपर्ने एजेण्डासहित उनले दल घोषणा गर्न लागेका हुन् ।
ढुंगाना तत्कालीन केपी शर्मा ओली सरकार पतन गरेर सुशीला कार्की नेतृत्वमा सरकार गठन गर्न सफल दुई दिने जेनजी आन्दोलनको चर्चित अनुहारमध्ये एक हुन् । कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेभित्र निर्वाचन गराउन तयारी थालेसँगै नयाँ दल खुल्न थालेका छन् ।