`

वर्तमान सरकार जेनजीकै हो, तर म त्यसमा पर्दिनँ : मिराज

Nepal One HD १ कार्तिक २०८२ १४:३५
प्रमुख खबर

काठमाडौं । जेनजी युवा मिराज ढुंगानाले आफू जेनजी अगुवा भएको, वर्तमान सरकार जेनजीले नै बनाएको भए पनि आफू त्यसमा नपर्ने बताएका छन् । आज (शनिबार) काठमाडौंको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्दै ढुंगानाले यस्तो बताएका हुन् ।

उनलाई एक सञ्चारकर्मीले फागुनमा हुने निर्वाचनमा प्रत्यक्ष कार्यकारीमा जान सकिने अवस्था छ ? भन्दै सोधेका थिए । ती सञ्चारकर्मीले जेनजीले बनाएको सरकार भन्ने अनि सरकारले नै गर्न लागेको निर्वाचनमा आफ्ना मुद्दा पूरा नभइ सहभागी नहुने भन्न मिल्छ भन्दै अर्को प्रश्न गरेका थिए ।

‘तपाईंहरूले सुरुवातमै प्रत्यक्ष कार्यकारी भए हाम्रो सहमति हुन्छ नत्र हुँदैन भन्न किन नसकेको ? अबको संवैधानिक प्रणाली मान्ने भन्ने ? हामी के फागुनमा प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान सकिने अवस्था छ ?,’ ढुंगानाको प्रश्न थियो, ‘अहिले तपाईंहरूको कुरा के हो ? कि हामीले बनाएको सरकार होइन भन्ने अवस्थामा पुग्नुपर्‍यो । हैन भनेर आफैंले बनाएको सरकारले गर्न लागेको निर्वाचनमा जाँदैनौं भन्नु हुन्छ । यो सरकार कसको हो ?’

जवाफमा ढुंगानाले भने, ‘हैन यो सरकार जेनजीकै हो । त्यो जेनजीमा म पर्दिनँ । किनभने जेनजी पनि धेरै हुन्छ ।’ उनले पत्रकार सम्मेलनमार्फत आफूहरू संगठित हुनुपर्ने र त्यसका लागि कि त एनजीओ कि त दल खोल्नु आवश्यक रहेको जिकिर गरेका छन् ।

‘बटमलाइन पूरा नभएसम्म निर्वाचनमा भाग लिन्नौं’
जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ढुंगानाले राजनीतिक दल खोल्न लागेको जानकारी दिए ।

उनले निर्वाचनमा भाग लिनका लागि मात्रै दल खोल्न नलागेको दाबी गर्दै आफ्नो ‘बटमलाइन’ सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी आफ्नो प्रमुख मुद्दा भएको उनको भनाइ छ । उनले जेनजी अभियन्ताहरूलाई एकजुट बनाएर संगठित रूपमा अगाडि बढ्नका लागि नयाँ दल खोल्न लागिएको स्पष्ट पारे ।

ढुंगानाले भने, ‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौं । प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाइन हो, यसलाई सुन्नै पर्छ । यो बिना कतै पनि जानेवाला छैनौं ।’

उनले पार्टी खोल्नुको अर्थ चुनाव लड्न नभएको जिकिर गर्दै संगठित भएर अगाडि बढ्नका लागि, निर्देशन कसले दिने भन्ने स्पष्टताका लागि यो कदम चालिएको बताए । ‘हामीले राजनीतिक पार्टी खोल्नुको अर्थ निर्वाचनमा जानु कदापी होइन, यो प्रष्ट होस्। आधिकारिक हुनलाई भीड भएर मात्रै त देश विकास हुँदैन । आधिकारिक त हामी हुनुपर्‍यो ।’ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने ढुंगानाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *