कुटपिट गरी महिलाको हत्या, श्रीमान घाइते


पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिट गरी एक महिलाको हत्या गरिएको छ । प्रहरीका अनुसार गए राति १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् । विश्वकर्माको कुटपिटबाट फूलमायाका श्रीमान ८२ वर्षीय प्रेमबहादुर जिसी घाइते भएको प्रहरीले जनाएको छ ।
उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएकामा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । गए राति १२ः३५ बजे प्रहरीलाई खबर आउना साथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले घटनामा संलग्न विश्वकर्मालाई पक्राउ गरेको हो । घरमै लुकिछिपी रहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । कुटपिटमा धारिलो हतियार समेत प्रयोग भएको स्थानीयले बताएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।