`

झिनियाँको माग बढ्दो, उत्पादन गर्न भ्याइनभ्याई

Nepal One HD ६ कार्तिक २०८२ ११:२२
अर्थ समाचार

रामपुर । यस पटक तिहारमा मागअनुसार झिनियाँ पुर्‍याउन नसकिएको व्यवसायीले बताएका छन् । तिहारको बेला व्यवसायीले झिनियाँ बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

चाडपर्वका बेला ग्राहक तथा व्यापारीबाट माग बढी आए पनि पुर्‍याउन नसकिएको उद्यमी रामपुर नगरपालिका–५ स्थित राङभाङ बस्ने रुद्रनारायण श्रेष्ठले बताए । तिहारमा पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा झिनियाँ दिने चलन बढ्दो रहेकाले माग बढी आउने गरेको उनको अनुभव छ ।

‘व्यवसायीलाई उत्पादन गर्न हम्मेहम्मे परेको छ, उत्पादन गरेमात्र हुन्छ, व्यापारको पिरलो छैन, उद्योगबाटै धमाधम बिक्री भइरहन्छ, अहिलेको मागअनुसार पुर्‍याउनै मुस्किल पर्छ’, उनले भने । उद्यमी श्रेष्ठले रामपुरमा विगत एक दशकदेखि झिनियाँको व्यापार गर्दै आएका छन् । उनी यो क्षेत्रका पहिलो व्यवसायी हुन् । श्रेष्ठलाई श्रीमती लक्ष्मीले निरन्तर रूपमा व्यवसायमा साथ दिँदै आएका छन् ।

चाडपर्व छिटो, वर्षा पनि लामो परेकाले विगतका वर्षको तुलनामा पहिले नै तयार गरेर राख्न नसकिएको हुँदा चाडपर्वमा उत्पादन गर्न भ्याइनभ्याई भएको लक्ष्मीले बताए । श्रेष्ठले सञ्चालन गरेको यो व्यवसायमा छ जनाले रोजगारसमेत पाएका छन् । यसपटकको चाडपर्वमा करिब छ लाख बराबरको कारोबार हुने उद्यमी रुद्रनारायणले बताए । उनका अनुसार त्यहाँ उत्पादन भएको झिनियाँ पाल्पा, स्याङजा, तनहुँ, नवलपुर, बुटवल, भैरहवा, चितवनलगायतका विभिन्न स्थानमा खपत भइरहेको छ ।

रामपुर–४ सिर्जनाचोकका विष्णु सारुले यस पटक बजारको मागअनुसार थेग्न मुस्किल परेको सुनाए । उनले तीन वर्षदेखि निरन्तर झिनियाँ उत्पादन गर्दै आएका छन् । यसबाट मनग्य आम्दानी हुने भएपछि व्यावसायिक उत्पादनमा जोड दिएको सारुले उल्लेख गरे । घरमै झिनियाँ खरिद गर्न आउने भएपछि उद्यमीलाई बिक्रीका लागि बजार धाउनु परेको छैन । प्रतिकिलो खुद्रा मूल्य एक सय र थोक मूल्य ९० मा बिक्री भइरहेको छ । छोटो समयमा कम लगानीमा घरमै बसेर आयआर्जन गर्न सकिने हुँदा हिजोआज झिनियाँ व्यवसायमा आकर्षण बढ्दो छ ।

बजारमा यसको माग बढ्दो रहेकाले व्यवसायीलाई सहज भएको छ । उत्पादन गर्न झन्झट गर्न नपर्ने, घरमै बसेर आयस्रोत लिने भएकाले झिनियाँलाई व्यवसायका रूपमा गाउँघरमा लिने गरिएको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइ दिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ । हिजोआज खाजाका रूपमा पनि यसको प्रयोग बढिरहेको छ । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे संक्रान्ति, तीजलगायत विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ ।

‘पहिला बजारमा झिनियाँ अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो । घरघरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो । तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनियाँ बनाउने कार्य गरिँदैन । त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन्’, सारुले भने ।

झिनियाँबाट मनग्य आम्दानी हुन थालेपछि हिजोआज महिलाहरूको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यावसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने भएकाले उत्पादित झिनियाँ सुरक्षित भण्डारण गरेर जुनसुकै समयमा पनि बिक्री गर्न सकिने सारुको अनुभव छ ।

गाउँमा सवारीसाधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो छ । बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ । चामलको पीठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषतः पहिले–पहिले तिहारका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रूपमा पनि झिनियाँलाई लिने गरिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *