माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, झलनाथ खनालको पनि ‘ग्रीन सिग्नेल’
काठमाडौं । लामो समयदेखि वाम एकताको प्रयासमा रहेका दुई प्रमुख कम्युनिष्ट दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकीकरणको टुंगो लागेको छ । नेतृत्व, नीति तथा सिद्धान्तमा मौलिक सहमति बनेपछि अब निर्वाचन आयोगले तोकेको दल दर्ताको समयभन्दा अघि नै एकीकरण घोषणा हुने निश्चित जस्तै भएको छ । वार्ता टोलीका सदस्यहरूका अनुसार अब दुवै दलबीच कुनै ठूला विमति बाँकी छैन । एकीकरणपछिको नेतृत्व मिलाउने जिम्मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ ।
नीति र सिद्धान्तमा सहमति
स्रोतका अनुसार नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहनेछ भने कार्यनीति नेपाली विशेषतासहितको समाजवादमा आधारित हुनेछ । माओवादीले माओवादलाई संगठनात्मक सिद्धान्तबाट हटाउने सहमति जनाएको छ भने समाजवादी पक्षले ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई अघिबाटै परित्याग गरेको थियो । यसरी अब बन्ने नयाँ पार्टीले जबजका आधारभूत मूल्य र नेपाली विशेषता सहितको समाजवादी मार्गलाई मूल नीति बनाउने छ ।
नाम र चुनाव चिन्हबारे छलफल
पार्टीको नामका लागि ‘नेपाल कम्युनिष्ट पार्टी समाजवादी’ वा ‘नेपाली कम्युनिष्ट पार्टी समाजवादी’ जस्ता प्रस्ताव आएका छन् । ‘समाजवादी’ शब्द भने अनिवार्य रूपमा राख्ने सहमति भएको बताइन्छ । नेकपा (एस) को दर्ता नाम र सम्भावित दोहोरोपन टार्न ‘नेकपा समाजवादी केन्द्र’ भन्ने प्रस्ताव पनि आएको थियो, तर छोटकरी नाम ‘सके’ हुने भएकाले त्यो प्रस्ताव त्यागिएको छ । चुनाव चिन्हबारे अझै अन्तिम टुंगो लागेको छैन । समाजवादी पक्षले ‘कलम’ निरन्तरता दिनुपर्ने बताइरहेको छ भने माओवादी पक्ष नयाँ चिन्ह खोज्ने पक्षमा छ ।
नेतृत्व मोडालिटी
नेतृत्वबारे विभिन्न मोडालिटीमा छलफल भइरहेको छ । हालसम्म प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक हुने प्रस्ताव बढी बलियो देखिएको छ । दुई अध्यक्षको मोडालिटी असफल भइसकेकाले त्यो विकल्प दोहोर्याउने सम्भावना छैन । यदि विप्लव नेतृत्वको नेकपा पनि एकीकृत भएमा अध्यक्ष मण्डलको प्रस्तावमाथि पनि पुनः विचार हुनसक्ने बताइन्छ ।
झलनाथ खनालको पनि ‘ग्रीन सिग्नल’
पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल, जो सुरुमा एकीकरणप्रति असन्तुष्ट थिए, अहिले सकारात्मक बनेका छन् । भारतको दिल्लीमा उपचाररत खनालले सुरूमा ‘एकताको मौसम छैन’ भन्दै अपिल गरेका थिए । तर अध्यक्ष माधव नेपालसँग लामो संवादपछि उनी पनि एकताको पक्षमा उभिएका छन् । एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसालका अनुसार, खनालले पार्टीको राजनीतिक दस्तावेज अध्ययन गरेपछि ‘विचार र सिद्धान्तमा आधारित वाम एकता’ को पक्षमा समर्थन जनाएका हुन् ।भुसालले महासचिव घनश्याम भुसाललगायत असन्तुष्ट नेताहरूसँग पनि छलफल भइरहेको र अन्ततः सबैको सहमतिमा एकता घोषणा हुने विश्वास व्यक्त गरेका छन् ।
विप्लव र अन्य दलहरूसँग पनि संवाद
नयाँ पार्टीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई समेत समेट्ने प्रयास जारी छ । साथै महेन्द्र राय यादव नेतृत्वको नेसपा, अशोक राई नेतृत्वको जसपा, र प्रेमबहादुर सिंह नेतृत्वको दलहरूसँग पनि वाम एकता सम्भावनाबारे प्रारम्भिक वार्ता चलिरहेको जानकारी प्राप्त भएको छ ।
