प्रहरीबाट लुटिएको गोलीसहित दुई जना पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटपाट भएको तीन थान गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले एम्बुस (आकस्मिक) अपरेसनका क्रममा नरेफाँटबाट गोलीसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दिया, बढैयाताल–३ घर भई काठमाडौंको कपनमा डेरा गरी बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौंको मालीगाउँस्थित आनन्द भैरव मार्गमा बस्ने १६ वर्षीय सोनम थापा मगर छन् । उनीहरूले जेनजी आन्दोलनका क्रममा दरबारमार्गमा उक्त गोली भेटेको र साथमा लिएर हिंडेको बताएका छन् ।
त्यहाँबाट लुटिएका हतियारको विषयमा भने उनीहरूले अनविज्ञता प्रकट गरेको प्रहरी स्रोतले जनाएको छ । गिरीको बयानका आधारमा झापाका थापामगरसँग पनि गोली रहेको खुलेको थियो । उनको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको छ । उनीहरु दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
