जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुन्छन् : प्रहरी महानिरीक्षक खापुङ
काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आन्दोलनको बहानामा अपराधिक कार्यहरू पनि भएको उल्लेख गर्दै उनीहरूमाथि कारबाही हुने बताएका हुन् ।
प्रहरी महानिरीक्षक खापुङले समाजलाई धमिल्याउने अपराधिक गतिविधिहरूलाई प्रहरीले कुनै पनि हालतमा रोक्नुपर्ने भएकाले त्यस्ता तत्त्वलाई निशाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको समेत बताए । जेनजी आन्दोलनपछि प्रहरीहरूको मनोबल खस्केको भन्ने भनाईमा सत्यता नरहेको उनले बताए । प्रहरी महानिरीक्षक खापुङले जेनजी आन्दोलनपछि प्रहरीहरू स्थानीय जनताको सहयोगमा नै सबै चौकीहरूमा पुनः स्थापना हुन सकेको बताएका छन् ।
खापुङले भने, ‘जेनजी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरु पनि चलखेल भएको देखिएको छ । त्यो वास्तवमा गलत हो । त्यो अपराधिक कार्य नै हो । त्यस्ता अपराधिक कार्यहरू दण्डित हुनुपर्छ । उनीहरू क्रमशः दण्डित हुन्छन् भन्ने कुरा यहाँहरू सबै समक्ष आश्वस्त पनि बनाउन चाहन्छु । यो आन्दोलन पश्चात् आम रूपमा प्रहरीको मनोबल खस्केको जस्तो पनि देखिएको थियो । तर प्रहरीको मनोबल खस्कनुपर्ने कुनै कारण छैन । प्रहरीप्रति आम वर्गको अपेक्षा ठुलो छ । तर ती सबैको अपेक्षा पूर्ति गर्न सक्ने अवस्था रहँदैन । प्रहरीले त रोक्नुपर्ने हुन्छ । नो भन्नुपर्ने हुन्छ । कुनै पनि अपराधिक गतिविधिलाई रोक्नुपर्ने हुन्छ ।’ खापुङले समाजलाई शान्ति सुरक्षा दिने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नपर्ने दाबी समेत गरे ।
