एकै दिन ११ हजार बढीले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपालीहरूको महान पर्व तिहारको बिदा सकिएर बजार खुलेसँगै सुनको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको भारी गिरावटको प्रभावस्वरूप आइतबार छापावाल सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो तिहारअघिको मूल्यभन्दा निकै कम हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, तिहार बिदाअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावटले नेपाली बजारमा पनि ठूलो प्रभाव पारेको छ।
अघिल्लो मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको थियो । ‘द फाइनान्सियल टाइम्स’ का अनुसार, मंगलबार सुनको मूल्य प्रतिऔंस ४,०८२ डलरमा झरेको थियो । यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट हो, जसले विश्वभरका लगानीकर्ताहरूलाई चकित पारेको छ ।
गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४,११३ डलरमा कारोबार भइरहेको थियो । सामान्यतया शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुने भएकाले सोमबारदेखि यसको थप प्रभाव देखिने अपेक्षा गरिएको छ । सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला २ सय ६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । कात्तिक ३ गते चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ८० रुपैयाँ थियो ।
लगानीकर्तामा अन्योल : सुनको मूल्यमा आएको यो अप्रत्याशित गिरावटले लगानीकर्ताहरूमा अन्योल सिर्जना गरेको छ । लगातार नयाँ कीर्तिमान बनाइरहेको सुनको मूल्यमा यति ठूलो कमी आउनुले बजारमा नयाँ तरंग पैदा गरेको छ । आगामी दिनमा सुनचाँदीको बजार कता जान्छ भन्ने चासो सर्वत्र बढेको छ ।
