`

गोलीले मारिएका ३९ जनामा सबैजसोको कम्मरमाथि प्रहार

Nepal One HD ११ कार्तिक २०८२ ११:०८
प्रमुख खबर

काठमाडौं । गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ३९ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार मृत्यु भएका अधिकांशलाई कम्मरभन्दा माथिल्लो भागमा गोली लागेको छ ।

काठमाडौं उपत्यकामा गोली लागेर ३५ जना मारिएकामा १९ जनाको छातीमा, १० जनाको टाउकामा, ४ जनाको पेटमा र २ जनाको घाँटीमा गोली लागेको भेटिएको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, ‘सबैजसो मृतकको कम्मरमाथि गोली लागेको भेटियो । त्यसमा पनि धेरैको छातीमा गोली लागेको छ, टाउकोमा पनि गोली लागेको छ । एक जनालाई तीन वटा रबर बुलेट लागेको देखिन्छ, अरू सबैको शरीरमा मेटल बुलेट लागेको देखिन्छ ।’

उनले मारिएका सबैलाई ‘हाई भेलोसिटी’ (राइफललगायत घातक) हतियारबाट गोली लागेको पाइएको बताएका छन् । २३ र २४ भदौको प्रदर्शनमा ४१ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र तीन जना प्रहरी पनि मारिएका थिए । प्रहरीको मृत्यु प्रदर्शनकारीको कुटपिटबाट भएको थियो भने कैदीबन्दी भाग्ने क्रममा प्रहरी र सेनाले चलाएको गोली लागेर मारिएका थिए । १० कैदीबन्दीमध्ये चार जनालाई सेना र ६ जनालाई प्रहरीको गोली लागेको थियो ।

दोस्रो दिन मारिएका ४१ प्रदर्शनकारीमध्ये १७ जनालाई गोली लागेको थियो, अरू २४ जना आगजनीसहितका घटनामा परेर मारिएका थिए । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा मात्र सात जनाको शव जलेको अवस्थामा भेटिएका थिए । सुनसरी र मोरङको भाटभटेनीमा पनि पाँच जनाको शव त्यही अवस्थामा फेला परेका थिए । तर डेढ महिनासम्म पनि यी मृतकहरूको पहिचान खुल्न सकेको छैन । चुच्चेपाटीमा भेटिएका कंकालहरू त्रिवि शिक्षण अस्पतालमा प्लास्टिकका पोकामा राखिएको छ भने डीएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल प्रहरीमा पर्याप्त तालिमको अभाव र सेवा विशिष्टीकरण नहुँदा बारम्बार एउटै गल्ती दोहोरिने गरेको बताउँछन् । उनले प्रहरीले अझै पनि युद्धमा प्रयोग गर्ने हतियार भीड नियन्त्रणमा चलाइरहेको भन्दै गैरघातक हतियारको अभावमाथि जोड दिए । स्थानीय प्रशासन ऐन, २०२८ ले शान्ति कायम गर्न नसकिने परिस्थितिमा अन्तिम विकल्पका रूपमा मात्र सुरक्षाकर्मीले गोली हान्न मिल्ने र त्यो पनि घुँडामुनि लाग्ने गरी गोली चलाउन आदेश दिन सकिने परिकल्पना गरेको छ । तर जेन–जी आन्दोलनमा भने घातक हतियारबाट कम्मरभन्दा माथि गोली चलाउँदा यति ठूलो मानवीय क्षति भएको छ । प्रहरीको रिपोर्टअनुसार, देशभर दुई दिनमा १३ हजार १८२ पटक फायरिङ गरिएको थियो, जसमध्ये २ हजार ६ सय ४२ ‘लाइभ एम्युनिसन’ अर्थात् धातुका गोली प्रहार भएका थिए ।

राष्ट्रिय मानवअधिकार आयोगले यस घटनालाई गम्भीर रूपमा लिई सदस्य लिली थापाको नेतृत्वमा छानबिन गरिरहेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले प्रारम्भिक अनुसन्धान सकेर बयान लिने काम भइरहेको र मानवअधिकारका दृष्टिले पहिलो दिनको गोली प्रहारका घटना बढी गम्भीर रहेकाले त्यसलाई प्राथमिकता दिएर अनुसन्धान भइरहेको जानकारी दिए । आयोगको प्रतिवेदन ढिला हुँदा त्यसको औचित्य कम हुने भएकाले सकेसम्म छिटो ल्याउनु पर्छ भनेर काम भइरहेको पोखरेलको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *