मेची राजमार्ग अवरुद्ध, वैकल्पिक सडक पनि ठप्प
इलाम — बिहीबारदेखिको निरन्तर वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।
विभिन्न स्थानमा सडक भासिएकाले उक्त खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
मेची राजमार्गको वैकल्पिक सडकका रुपमा सञ्चालन भएको तिल्केनी–सिमलगोलाई–शिलपुर सडक पनि वर्षा र पहिरोका कारण अवरुद्ध भएको छ । मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) को बेलासेस्थित माइखोलाको पक्की पुल भाँचिएपछि गत असोज १८ गतेदेखि नै सो सडक बन्द छ । इलाम सदरमुकामबाट झापा जोड्न सबै सडक अवरुद्ध भएपछि इलाम र झापाबीचको सडक सम्पर्क विच्छेद भएको छ ।
जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण शनिबारसम्म कोशी प्रदेशको इलामलगायत विभिन्न क्षेत्रमा मौसम प्रभावित हुने जनाइएको छ ।
