`

साढे तीन महिनामा काउन्सिलमा एक सय १७ उजुरी

Nepal One HD १४ कार्तिक २०८२ २१:०१
समाज

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म प्रेस काउन्सिल नेपालमा एक सय १७ वटा उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार ६३ सामग्रीको स्वअनुगमन हुँदा २० वटामा आचारसंहिता प्रतिकूल भएको देखिएको हो ।

काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले चालु आवमा परेका एक सय १७ उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात खण्डन सम्प्रेषण गरी ५५ वटाले पेस गरेको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार १२ वटाले क्षमायाचना/भूलसुधार गरेका, तीनवटाले सामग्री स्थगन गरेका, चारवटालाई स्पष्टीकण सोधिएको, १२ वटालाई निर्देशन एवं सचेत गराइएको र ३१ वटा प्रक्रियामा रहेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका समयमा सञ्चारमाध्यम एवं सोका सामाजिक सञ्जालबाट १४ वटा र कुनै पनि सञ्चारमाध्यमअन्तर्गत दर्ता नदेखिएका एवं सम्पर्क ठेगानासमेत उल्लेख नभएका तीनवटा सामाजिक सञ्जालबाट पत्रकार आचारसंहिता प्रतिकूल भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण भएको स्वअनुगमनबाट देखिएको काउन्सिलले जनाएको छ ।

अनुगमनपश्चात ११ वटा सञ्चारमाध्यमलाई निर्देशन एवं सचेत गराइएकामा सातवटाले क्षमायाचनासहित भूलसुधार र एक समाचार एजेन्सीलाई जवाफ माग गरिएकामा क्षमायाचना गरी जवाफ पेस गरेको, तीनवटालाई कुनै जवाफ पेस नभएको हुँदा ताकेता गरिएको, चारवटाले सामग्री स्थगन गरेका सहप्रवक्ता बोहोराले जानकारी दिनुभयो । साथै बाँकीको सम्पर्क ठेगाना नभएका कारण थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

काउन्सिलले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट समेत सम्प्रेषण भएका सामग्रीउपर प्राप्त हुने उजुरी/जनगुनासाको सुनुवाइका साथै नियमित अनुगमन गर्दै आइरहेको छ । त्यसक्रममा काउन्सिलले सञ्चारमाध्यमले सञ्चालन गर्ने युट्युबलगायत सामाजिक सञ्जालको अभिलेख गरी अनुगमन गर्नुका साथै सञ्चारमाध्यमको आवरणमा चलेका तर दर्ता अभिलेख नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको समेत प्रवृत्तिगत अनुगमन गरिरहेको छ ।

सञ्चारमाध्यममा आबद्ध नभई सञ्चालनमा रहेका युट्युब च्यानलसहित सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीउपर उजुरी परेमा वा स्वअनुगमन हुँदा आचारसंहिता प्रतिकूल देखिएमा त्यस्ता सामाजिक सञ्जाललाई प्रथमपटक भूलसुधार निर्देशन एवं सचेत गराइने र त्यसो गर्दा पनि भूलसुधार नगरेमा आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पत्रचार गरिने काउन्सिलले जनाएको छ ।

वर्तमान अवस्थामा कतिपय सञ्चारमाध्यमबाट तथ्यगत परीक्षणबेगर भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्ने गुनासा आइरहेको सहप्रवक्ता बोहोराले उल्लेख गर्नुभयो ।

काउन्सिलको अनुगमनबाट त्यस्तो देखिएको सन्दर्भमा आचारसंहिताको अनुगमनलाई थप चुस्तदुरुस्त बनाउनका लागि काउन्सिलका सदस्यलाई ‘फोकल पर्सन’का रूपमा तोकी अनुगमनलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *