`

सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

Nepal One HD १६ कार्तिक २०८२ २०:१५
प्रमुख खबर

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सम्पन्न भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण बनाउन सङ्घीय सरकारसँग सहकार्य र समन्वयमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार मुख्यमन्त्रीहरूले प्रधानमन्त्री कार्कीले दलहरूबीच संवाद र छलफल अघि बढाएको कदमको प्रशंसा गर्दै यो प्रक्रिया चुनावी माहोल बनाउन उपयोगी हुने विश्वास व्यक्त गरे।

मुख्यमन्त्रीहरूले शान्ति-सुरक्षालाई निर्वाचनको प्रमुख चुनौतीका रूपमा औंल्याउँदै यसमा सबै तहका सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए। उनीहरूले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आपसी सहकार्य र सहअस्तित्वको भावनासहित काम गर्न सके तोकिएको समयमा निर्वाचन सम्भव हुने धारणा राखे।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले भने, ‘हामी चुनावका विरोधी होइनौं, तर चुनावको वातावरण बनाउन सङ्घ सरकारले पहल गर्नुपर्छ र त्यसमा प्रदेश सरकारको भूमिकालाई पनि सम्मान गर्नुपर्छ। अबको निकास चुनाव नै हो।’

बैठकमा ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणका लागि सङ्घीय सरकारले विशेष ‘प्याकेज’ ल्याउनुपर्ने सुझाव पनि मुख्यमन्त्रीहरूले दिएका थिए। साथै, खर्च कटौतीका नाममा जारी गरिएको सङ्घीय परिपत्रले प्रदेश सरकारको अधिकारमा हस्तक्षेप गर्ने प्रयासजस्तो देखिएको भन्दै उनीहरूले असन्तुष्टि जनाए।

सङ्घीय सरकारले हालै जारी गरेको परिपत्रमा कानुनले तोकेको भन्दा बढी सल्लाहकार नथप्ने, १० लाख रुपैयाँभन्दा माथिका योजनामा अनिवार्य बोलपत्रमार्फत प्रतिस्पर्धा गराउने लगायतका निर्देशन दिएको थियो।

मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार (सोनल)ले खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत प्याकेज घोषणा गर्न माग गरे। त्यस्तै, ‘डेडिकेटेड फिडर’को बक्यौता नतिर्ने उद्योगहरूको बिजुली लाइन काट्ने निर्णयले उद्योग, मजदुर र सरकारको राजस्वमा नकारात्मक असर पार्ने भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराए।

प्रधानमन्त्री कार्कीले राजनीतिक दल नै यो व्यवस्थाका वहनकर्ता भएकाले छिट्टै निर्वाचन सम्पन्न गरी दलीय सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू प्रतिबद्ध रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *