`

‘श्रमाधान कल सेन्टर’मा गुनासा बढे, तर धेरै समाधान भएनन्

Nepal One HD १८ कार्तिक २०८२ २०:५३
प्रमुख खबर

काठमाडौँ – वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको ‘श्रमाधान कल सेन्टर’मा समस्या सुनाउनेको सङ्ख्या बढे पनि तिनको समाधान भने कम भएको पाइएको छ ।

बोर्डको वार्षिक प्रगति प्रतिवेदनमा २०८१/८२ मा कल सेन्टरमा ९५ हजार ६७ जनाले समस्या टिपाएका ३३ हजार ४३० का समस्या मात्रै समाधान भएका छन् । जसमा ६१ हजार ६३७ जनाका समस्या समाधान हुन सकेका छैनन् ।

यस्तै, २०७६/७७ देखि २०८१/८२ सम्म समस्या सुनाउने प्रवृद्धि बढेको देखिए पनि समाधानको अवस्था अझै प्रभावकारी हुन नसकेको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका नेपाली कामदारको गुनासो सुनुवाइ गरी सम्बन्धित निकायबाट यथाशीघ्र सहयोग उपलब्ध गराउने उद्देश्यले विसं २०७५ चैतदेखि कल सेन्टर स्थापना एवं सञ्चालन सुरु गरिएको हो ।

यस्तै, बोर्डबाट वैदेशिक रोजगारमा रहेका कामदारको स्वास्थ्य समस्या सम्बोधन गर्ने उद्देश्यले ‘टेलिमेडिसिन’ सेवा सञ्चालनसमेत सञ्चालनमा छ । यसमा पनि आव २०७९/८० देखि २०८१/८२ सम्म आठ हजार ५७९ सेवाग्राही रहेका छन् । यसमार्फत भने सत्प्रतिशत समस्या समाधान भएको तथ्याङ्क छ ।

बोर्डले १८औँ स्थापना दिवसका सन्र्दभमा आज वार्षिक प्रगति प्रतिवेदन प्रकाशन गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीलाई समेत बुझाइएको प्रतिवेदनमा कल सेन्टर वैदेशिक रोजगारका क्रममा समस्यामा परेका नागरिकको महत्त्वपूर्ण सहयोगी हुने उल्लेख छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले वैदेशीक रोजगारबारे उठेका समस्या समाधानका लागि मन्त्रालय सधैँ चनाखो रहदै आएको बताउनुभयो । उहाँले कल सेन्टरको प्रभावकारिता बढेको र कतिपय समाधान गर्न नसकिने समस्यासमेत आउने गरेको बताउनुभयो ।
बोर्डका कार्यकारी निर्देशक डा द्वारीका उप्रेतीले कल सेन्टरमार्फत समस्या टिपाउने तर समाधान भइसकेपछि पुनःसम्पर्क नगर्दा समाधानको तथ्याङ्क कम देखिएको धारणा राख्नुभयो ।

बोर्डले २०७७ देखि २०८२ सम्म ४५,२४४ जनाले निःशुल्क सीप विकास तालिम प्राप्त गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *