महेन्द्र यादवले राखेको महाधिवेशन कार्यतालिका प्रस्ताव व्यक्तिगत : खड्का
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले राखेको महाधिवेशन कार्यतालिका प्रस्तावमाथि प्रश्न उठेको छ । सहमहामन्त्री यादवले मंगलबारको केन्द्रीय समितिमा १५ औं महाधिवेशन वैशाख मसान्तमा गर्ने गरी कार्यालिका पेस गरेका थिए । कांग्रेस विधानमा महामन्त्रीहरूले केन्द्रीय समितिमा प्रस्ताव पेस गर्न सक्छन् । तर सहमहामन्त्रीले प्रस्ताव पेस गरेको र त्यो प्रस्ताव पेस गर्न दिएको भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आलोचना भएको थियो ।
आज केन्द्रीय समिति बैठक सुरू हुनासाथ सहमहामन्त्री यादवले पेस गरेको प्रस्तावमाथि अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरले नै प्रश्न उठाएका छन् । १४ औं महाधिवेशनमा यादव र मन्सुर दुवै शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री जितेका थिए । सहमहामन्त्री मन्सुरले व्यक्तिगत धारणाका रूपमा सहमहामन्त्री यादवको प्रस्ताव आए पनि त्यसलाई सञ्चार माध्यमहरूमा संस्थापन पक्षको प्रस्ताव भनेर आएकोले त्यो आफूलाई स्वीकार्य नहुने बताएका हुन् ।
आफू कुनै पनि गुट भेलामा नगएको र अहिले कुनै पनि गुटमा नरहेको बताएका मन्सुरले यादवले पेस गरेको कार्यतालिकामाथि प्रश्न उठाएका हुन् । त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का बोलेका थिए । ‘सहमहामन्त्री महेन्द्र यादवले राख्नु भएको प्रस्ताव उहाँको धारणा हो भनेर मैले भनिसकेको छु । जब अध्यक्षले केन्द्रीय समितिलाई त्यो उहाँको धारणा भनिसकेपछि आज कुन पत्रिकाले के समाचार लेखे भनेर यहाँ छलफल गर्नु सान्दर्भिक हुन्न जस्तो लाग्छ, सबैको ध्यानाकर्षण गराएँ,’ कार्यवाहक सभापति खड्काको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले सुनाए ।
