आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा
बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ आम निर्वाचनपछि आफ्नो ब्यारेकमा फर्किने बुधबार बताएको छ ।
सेना मुख्यालयको आर्मी ट्रेनिङ एन्ड डक्ट्रिन कमान्डका जनरल अफिसर लेफ्टिनेन्ट जनरल मोहम्मद मैनुर रहमानले बुधबार ढाकामा पत्रकार सम्मेलनमा भन्नुभयो, “चुनाव सकिएपछि सेना आफ्नो ब्यारेकमा फर्कनेछ ।”
उहाँले चुनावले देशलाई थप स्थिर बनाउने र समग्र सार्वजनिक सुरक्षामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो।सेनाले विगत १५ महिनादेखि आफ्नो शिविर बाहिर ड्युटी गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गर्न सेनाको टोली तयार रहेको पनि बताउनुभयो ।
बङ्गलादेशको निर्वाचन आयोगले यसअघि नै देशको आम चुनावको सुरक्षाका लागि एक लाख सेना परिचालन गर्ने घोषणा गरेको थियो।
गत वर्ष पूर्व प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि पहिलो पटक फेब्रुअरी २०२६ मा आम निर्वाचन आयोजना गर्ने घोषणा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले गर्नुभएको थियो ।
