`

अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ : ओली

Nepal One HD २१ कार्तिक २०८२ १५:५६
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनस्र्थापना गर्नुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले पुनर्स्थापना पनि उनी आफैले गर्नुपर्ने तर्क गरेका हुन् । अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापना अदालतले गरेन भने राष्ट्रपतिले गर्नुको विकल्प नरहेको जिकिर गरे ।

उनले प्रतिनिधिसभा पुनर्स्थापनाको आफ्नो पार्टीको माग सत्य भएको जिकीर गर्दै त्यसको पक्षमा आम नेपाली जनता उभिनु पर्ने समेत बताए । अध्यक्ष ओलीले भने, ‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनर्स्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनु पर्दछ । प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई तीब्र बनाउनु पर्दछ । जसले विघटन गर्छ, त्यसले पुनर्स्थापना गर्छ । कि त अदालतले गर्छ । होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नुपर्छ । असंवैधानिक ढंगले विघटन गर्नसक्ने, पुनर्स्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? पुनर्स्थापना गर्नुपर्‍यो नि । विघटन गर्ने राष्ट्रपतिले पुनर्स्थापना गर्नु पर्‍यो । यस कुरामा हामी लेख्न सक्नु पर्दछ । बोल्न सक्नु पर्दछ । सत्यको पक्षमा उभिन सक्नु पर्दछ ।’ अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर आन्दोलनमा उत्रन पनि सबैलाई आह्वान गरे । उनले वर्तमान सरकार असंवैधानिक भएकाले यसको कुनै हैसियत नभएको पनि दोहोर्‍याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *