`

बिहारमा चुनाव, मोरङका सीमा नाका तीन दिन बन्द

Nepal One HD २२ कार्तिक २०८२ १२:१५
प्रमुख खबर

मोरङ । भारतको बिहारमा जारी विधानसभा निर्वाचनका कारण मोरङका सीमा नाका तीन दिन बन्द हुने भएको छ । बिहार विधानसभा चुनावअन्तर्गत गत बिहीबार पहिलो चरणको मतदान भइसकेको छ भने दोस्रो चरणको मतदान यही नोभेम्बर ११ तारिख हुँदैछ ।

सो अवधिमा सुरक्षा व्यवस्था सुदृढ गर्न त्यसतर्फ नेपाल–भारत सीमावर्ती क्षेत्रका नाका तीन दिन (७२ घण्टा) बन्द गरिने भएको हो । मोरङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सीमा नाका ७२ घण्टासम्म बन्द गरिने जानकारी दिएको हो ।

सूचनाअनुसार मतदान अवधिमा शान्ति–सुरक्षालाई ध्यानमा राखी सीमावर्ती आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनामा भनिएको छ, ’बिहार विधानसभाको आम निर्वाचन–२०२५ मा मतदानका दिन सुरक्षा संवेदनशीलता उच्च रहने भएकाले नेपाल–भारत सीमामा ७२ घण्टाको लागि नाका बन्द गरिने निर्णय भएको छ ।’

प्रशासनले जारी गरेको सूचनाअनुसार, आगामी २०८२ कात्तिक २२ गते साँझ ६ः१५ बजेदेखि २०८२ कात्तिक २५ गते निर्वाचन सम्पन्न नभएसम्म सीमावर्ती नाका बन्द रहनेछ । यस अवधिमा आपतकालीन सेवाबाहेक सबै किसिमका आवागमनमा रोक लगाइने जनाइएको छ । प्रशासनले नागरिकहरूलाई यस अवधिमा अनावश्यक सीमा आवागमन नगर्न तथा स्थानीय सुरक्षाकर्मीको निर्देशनको पालना गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *