`

सुशासन दिन नसके द्वन्द्व दोहोरिन पनि सक्छ : गृहमन्त्री अर्याल

Nepal One HD २२ कार्तिक २०८२ १६:४२
प्रमुख खबर

काठमाडौँ । फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गर्ने भएको छ । आज (शनिबार) काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित राष्ट्रिय वृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्तो बताएका हुन् ।

उनले यसमा नागरिकस्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताए । सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्ने बताए । उनले अहिलेसम्म जेनजी आन्दोलनका क्रममा लुटिएका ७१० वटा हतियार फिर्ता भइसकेको र केही अझै फिर्ता हुन बाँकी रहेको जानकारी गराएका छन् ।

आन्दोलनका क्रममा १४ हजार ५४९ जना फरार रहेकोमा ९,५२१ जना फिर्ता आइसकेको र अझै ५,१०५ जना बाहिर रहेको बताए । गृहमन्त्री अर्यालकाअनुसार अझै ३५ प्रतिशत कैदीबन्दी फरार छन् ।

उनले भने, ‘सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन पनि सक्छ भन्ने एउटा ठुलो म्यासेज अहिलेको परिस्थितिले दिएको छ । त्यो अवस्था सत्ता परिवर्तनको मात्रै होइन सुरक्षा संकट नै निम्तिन सक्छ । हतियारको विषय वस्तु छ । ७१० वटा हतियार फिर्ता गरिसकेका छौँ । कतिपय डढेका पनि छन् । केही फिर्ता हुन बाँकी छ । कैदीबन्दीहरु अहिलेसम्म १४ हजार ५४९ जना फरार भएकोमा ९,५२१ जना (६५ प्रतिशत) फिर्ता भइसकेका छन् । केही संख्या अझै पनि बाहिर छ । ५,१०५ जना अहिले पनि बाहिर छन् । हतियार र कैदीहरूलाई फिर्ता गर्नको लागि पटक–पटक सूचना निकालेर आइदिनुस्, हतियार फिर्ता दिनुस् पनि भनेका छौँ । अझै बाहिर हुनुहुन्छ । त्यसलाई विशेष अपरेसन चलाउँछौँ । यसमा नागरिकस्तरको तहबाट पनि सहयोग चाहिन्छ ।’

उनले कानुनी राज्यको जगेर्ना गर्नु आफ्नो दायित्व भएको बताए । सरकार र निजी क्षेत्र एक अर्काको परिपूरक भएको बताउँदै निजी क्षेत्रको दायित्व अर्थतन्त्रको जगेर्ना गर्नु भएको बताएका छन् । सरकार थप रचनात्मक भएर अघि बढ्ने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *