पशुपति कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउनु हुँदैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने धारणा राखेकी छन् । कोषको सोमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताइन् ।
कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री कार्की पर्यटनमन्त्री पनि भएकाले उनले बैठकको अध्यक्षता गरेकी हुन् ।
सिंहदरबारमा भएको बैठकमा उनले भनिन्, ‘धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरू हुन्छन् । परम्पगत मान्यता र रीतिथितिहरू हुन्छन् । ति हाम्रा मौलिक संस्कृति हुन् । ति मूल्य मान्यताको जगेर्ना गर्नुपर्छ । संसारभरिका हिन्दूको आस्था जोडिएको ठाउँ हो पशुपतिनाथ । यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत हो । पशुपतिमा राजनीतिको छायाँ पर्न दिनुहुँदैन । दलीय कार्यकर्ताको भर्तीकेन्द्र बनाउनु हुँदैन । यहाँ काम गर्ने मान्छे धार्मिक नै हुनुपर्छ । धार्मिक संस्थामा बसेर राजनीतिको आस्था बढाउनुपर्दैन । यहाँ धार्मिक आस्था बढाउने कार्य नै गर्नुपर्छ ।’
