`

मधेस प्रदेश प्रमुखमा कर्ण नियुक्त, भण्डारी बर्खास्त

Nepal One HD २४ कार्तिक २०८२ १९:३८
राजनीति

काठमाडौं । सरकारले मधेस प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गरेको छ । आज (सोमबार) साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेस मामलाका जानकार कर्णलाई प्रदेश प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा विवादस्पद निर्णय गरेकी प्रदेश प्रमुख सुमीत्रा भण्डारी सुवेदीलाई बर्खास्त गर्दै सरकारले कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखमा कर्णलाई नियुक्त गर्नेछन् ।

भण्डारीले सोमबार बिहानै झिसमिसेमै मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्त गरेकी थिइन् । उनले मुख्यमन्त्री दाबीको लागि आह्वान नै नगरी यादवलाई महोत्तरीको बर्दिवासको पानस होटलमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् । उनको यादवलाई ठूलो दलको हैसियतमा नियुक्ति गरेको बताएकी छन् ।

आइतबार मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कांग्रेससहितका सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठनको लागि खबरदारी गरेका थिए । प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन् । तर अस्वस्थताको कारण देखाउँदै काठमाडौं जान्छु भनेर निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले होटल पानसमा कात्तिक २३ गतेको मितिमै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र दिएकी थिइन् । त्यही होटलमै उनले शपथ पनि खुवाएकी थिइन् ।

यो घटना सार्वजनिक भएपछि प्रदेश प्रमुख भण्डारीको चौतर्फी आलोचना भएको थियो । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका थिए भने प्रदेश सांसद तथा दलका कार्यकर्ताहरूले प्रदेश प्रमुख बस्ने आवास र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *