किन भयो जेनजी आन्दोलन ? ज्योति मगरको व्यङ्ग्यात्मक ११ बुँदे विश्लेषण
काठमाडौं । हालै देशभर चर्चामा रहेको ‘जेनजी आन्दोलन’ लाई लिएर गायिका ज्योति मगरले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गरेकी छन् । उनले फेसबुकमार्फत एक विस्तृत पोस्ट गर्दै युवाहरूको आन्दोलनका विविध कारणहरूको सूची सार्वजनिक गरेकी छन् ।ज्योतिले लेखेकी छन्, ‘देशको चिन्ता गर्ने, बेथितिविरुद्ध बोल्ने, शान्तिपूर्ण रूपमा खबरदारी गर्ने युवाहरू अपवाद हुन्, तर बाँकी धेरैजसोको आफ्नो स्वार्थ छ ।’ उनले आफ्नो पोस्टमा ‘जेनजी’ आन्दोलनलाई ११ विभिन्न कोणबाट व्यङ्ग्य गर्दै कारणहरूको सूची प्रस्तुत गरेकी छन्।
ज्योति मगरका ११ बुँदामा ‘जेनजी आन्दोलन’ का कारण :-
टिकटकर जेनजी– मोबाइलमा हल्ला मच्चाएर पैसा कमाउने आकांक्षा ।
कलाकार जेनजी–युट्युबबाट डलर कमाउने प्रयोजन ।
रास्वपाका जेनजी–रवि लामिछानेलाई जेलबाट मुक्त गराउने अभियान ।
बालेनका जेनजी– प्रत्यक्ष कार्यकारी प्रणाली ल्याएर बालेनलाई प्रधानमन्त्री बनाउने र ‘चीलमा बस्ने, स्वागवाला एटिट्युड’ प्रदर्शन गर्ने चाहना ।
माओवादीका जेनजी–केपी ओलीलाई हटाएर प्रचण्डलाई सत्ताको बागडोर सुम्पने लक्ष्य ।
कांग्रेसका जेनजी–देउवा हटाएर गगन थापालाई सभापति बनाउने उद्देश्य ।
बारबरा फाउन्डेसनका जेनजी–सन्दुक रुइतको देवत्वको आडमा चीनविरुद्ध गतिविधि चलाई तिब्बत आजादीको समर्थन र अमेरिकाको फेभर गर्ने प्रयास ।
मधेस वारिपारिका जेनजी–नागरिकता पाएपछि ‘जय नेपाल’ भन्दा ‘जय हिन्द’ भन्न सजिलो भएकाले ।
हुने खाने वर्गका जेनजी–नेताका सन्तानको हातको रोलेक्स घडी र लक्जरी जीवन शैलीको लोभमा ।
एनजिओ/आईएनजिओका जेनजी–देश अस्थिर बनाइ डलर आर्जन गर्ने प्रयोजन ।
राजावादी जेनजी–राजसंस्था फर्काई ‘हुकुम बक्स्यो, कृपा बक्स्यो’ संस्कृति पुनःस्थापना गर्ने र हिन्दु राज्य घोषणा गर्ने अभिलाषा ।
देशप्रेमी युवाप्रति सम्मान, तर ‘दुर्भाग्य’ पनि प्रकट ।
ज्योतिले भने केही युवाहरू साँच्चै देशको माया राख्ने र बेथितिविरुद्ध आवाज उठाउने श्रेणीका रहेको उल्लेख गरेकी छन् । ‘तर दुर्भाग्य, उनीहरूकै अगाडि निर्दोषहरू ढले, उनीहरूकै अगाडि देश जल्यो’, भन्दै उनले दुःख व्यक्त गरेकी छन् । पोस्टको अन्त्यमा उनले लेखेकी छन्, ‘डरै डरमा लेखेको यो पोस्ट हो, कमेन्ट पढ्नेछु । जसलाई गाली गर्नु छ, जति गाली गरे पनि गर्नु ।’ ज्योति मगरको यो व्यङ्ग्यात्मक विश्लेषण सामाजिक सञ्जालमा अहिले चर्चाको केन्द्र बनेको छ- कतिपयले उनको विश्लेषणलाई तीखो व्यङ्ग्य भनेका छन्, भने कतिपयले यसलाई वर्तमान राजनीतिक–सामाजिक परिवेशको यथार्थ चित्रणको रूपमा पनि व्याख्या गरेका छन्।
