प्रधानमन्त्रीलाई विश्वकर्माको प्रश्न : अपराधमा संलग्नहरूलाई कारबाही गर्नु पर्दैन ?
काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेन–जी आन्दोलनमा आपराधिक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने बताएका छन् ।
आज (शनिबार) बुटवलमा आयोजित जनसभा कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनिक सम्पत्तिलाई धराशायी बनाउनेहरूलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सचिव विश्वकर्माले जेलबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिने काम समेत नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना समेत गरे ।
उनले भने, ‘जसले घुसपैठ गरे । जसले यस खालको गुण्डागर्दी गरे । जसले यस खालको आतंकित गतिविधि गरे । जसले देशको सम्पत्ति, निजी सम्पत्ति, प्रतिष्ठानहरू । यसलाई धराशायी बनाउने काम गरे । अब यो सरकारले त्यो छानबिन गर्न पर्दैन ? ती अपराधीहरूलाई कानुनको दायरामा ल्याउनु पर्दैन ? जेलबाट हजारौँ कैदीहरू छुटेका छन् । तिनलाई ल्याउनका लागि यो सरकारले के गरिरहेको छ ? जनताको प्रश्न छ । त्यो जवाफ दिने सामथ्र्य सम्माननीय सुशील कार्कीसँग हुनुपर्छ कि पर्दैन ? गृह मन्त्रीसँग हुनुपर्छ कि पर्दैन ? यो सरकारसँग हुनुपर्छ कि पर्दैन ?’ सचिव विश्वकर्माले मुलुकलाई संकटबाट पार लगाउन आफ्नो पार्टीले सक्दो पहल गरिरहेको जिकिर समेत गरेका छन् ।
