लोकतन्त्र, संविधानको रक्षा र जेनजी पुस्ताको माग सम्बोधनका एजेन्डासहित एमालेको प्रदर्शन
लुम्बिनी – नेकपा (एमाले)ले आज बुटवलमा प्रदर्शन गरेको छ । एमाले रुपन्देहीको आयोजनामा आज बुटवलमा प्रदर्शन तथा ¥याली निकालिएको हो ।लोकतन्त्र र संविधानको रक्षा तथा जेनजी पुस्ताको माग सम्बोधनका एजेन्डासहित प्रदर्शन गरिएको एमाले रुपन्देहीले जनाएको छ । प्रदर्शनले राजनीतिक उत्साह र एकताको नयाँ ऊर्जा ल्याउने अपेक्षा एमालेको छ ।
बुटवलको राजमार्ग चौराहादेखि सुरु भएको ¥याली ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्ने नेताहरुले संबिधान र लोकतन्त्रको रक्षा गरेर युवा पुस्तालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा पूर्वमन्त्री छविलाल बिश्वकर्माले नेकपा एमाले सदैव संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको र राष्ट्र राष्ट्रियता र संविधानमाथि धावा बोल्ने जो कोहीका विरूद्ध दृढ भएर उभिने बताउनुभयो ।
उहाँले एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामबाट आम जनता जानकार रहेको बताउनुभयो । एमाले पोलिटब्युरो सदस्य लीला गिरीले एमाले संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दै अहिले संविधान सङ्कटमा परेको बेला सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।
युवा सङ्घका पूर्वउपाध्यक्ष राजु गुरुङले जेनजी आन्दोलनको आवरणमा मुलुकका राष्ट्रिय सम्पदा, एमालेका पार्टी कार्यालय, व्यापारिक प्रतिष्ठान, नेता तथा कार्यकर्ताका निजी सम्पत्तिलगायतमा छानी छानी आगजनी र तोडफोड गरिएको बताउदै त्यस्ता व्यक्तिलाई कारवाही गर्नुपर्ने माग राख्नुभयो ।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले गत भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो ।
