`

जेनजी आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही हुनैपर्छ : अध्यक्ष ढकाल

Nepal One HD १ मंसिर २०८२ ११:३१
अर्थ समाचार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनलाई लक्षित गर्दै तीव्र प्रतिक्रिया गरेका छन् । उनले असल उद्देश्यका साथ सुरु भएको आन्दोलनमा ‘गलत तत्वहरूको प्रवेश’ भएपछि देशभर तोडफोड, आगजनी र लुटपाट जस्ता घटनाहरू भएको बताए । जसको तत्काल कारबाही बिना निजी क्षेत्रको मनोबल उठ्न नसक्ने उनले सरकारलाई सुझाव दिएका छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण निजी क्षेत्रकै प्राथमिक एजेण्डा भएको उल्लेख गरे । उनले महासंघको साधारण सभाले समेत यही मुद्दालाई औपचारिक दिशानिर्देशका रूपमा पारित गरिसकेको स्मरण गर्दै भने, ‘पवित्र उद्देश्यका साथ चलेका आन्दोलनमा जसरी गलत तत्व सक्रिय भए, चोरी–तोडफोड, आगजनी र लुटपाट भयो— ती सबैलाई सरकार अबिलम्ब कारबाहीको दायरामा ल्याउनै पर्छ । यही हो निजी क्षेत्रलाई ढुक्क बनाउने पहिलो शर्त ।’

ढकालले आन्दोलनको दुव्र्यवहारले उद्योग तथा व्यवसायमा ठूलो आर्थिक क्षति भएको तथ्य उठाए । निजी क्षेत्रको सम्पत्ति सुरक्षित गर्न सरकारले असफल हुने हो भने लगानीमै संकट उत्पन्न हुने भन्दै उनले भने, ‘सुरक्षा दिन नसक्ने हो भने घुसपैठका यस्ता घटना दोहोरिरहन्छन्, व्यवसायीको आत्मविश्वास झन् घट्छ, लगानीकर्ता तर्सिन्छ ।’

तर उनले आलोचनासँगै अर्थ मन्त्रालयलाई प्रशंसा पनि गरे । आन्दोलनका क्रममा क्षति भोगेका व्यवसायीलाई तत्काल सहुलियत उपलब्ध गराएको र भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रका सेवाहरू ‘फेसलेस’ प्रणालीमार्फत अनलाइनबाट उपलब्ध गराउनु सकारात्मक कदम भएको टिप्पणी गरे ।

ढकालका अनुसार बैंकहरूमा हाल ११ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ, तर लगानीका परियोजनाहरू अघि नबढ्दा लागत बढ्ने र आयोजना ‘बेवारिसे’ बन्ने अवस्था छ । त्यसैले सरकारले अनुकूल लगानी वातावरण बनाउन तुरुन्तै पहल गर्नुपर्ने उनको माग थियो ।यस्तै उनले धितोपत्र बोर्डले लामो समयदेखि जलविद्युत् आयोजनाहरूलाई आईपीओ जारी गर्न अनुमति नदिएर अनावश्यक अवरोध सिर्जना गरेको आरोप लगाए । बोर्डमा देखिएको समस्या तत्काल समाधान गरी पूँजी बजारलाई सहज बनाउने जिम्मा अर्थमन्त्रीले लिनुपर्नेमा उनको जोड थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *