आयोगमा १२० दल दर्ता : पुराना हस्तीदेखि जेनजी नेतृत्वसम्मको चुनावी भिडन्तको तयारी
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यस पटक अभूतपूर्व राजनीतिक सक्रियता देखिएको छ । निर्वाचन आयोगले तोकेको मंसिर १ देखि १४ गतेसम्मको समय सीमाभित्र १२० राजनीतिक दलले निर्वाचनमा सहभागी हुन दर्ता निवेदन दिएका छन् । आयोगमा दर्ता भइसकेका १४३ दल बाहेक २३ दलले आवेदन नदिए पनि समग्र राजनीतिक वातावरण नयाँ दलको उदय, पुराना शक्तिको पुनः परीक्षण र जेन–जी आन्दोलनपछिको उर्जाले गतिशील बनेको स्पष्ट देखिन्छ ।
दर्ता भएका १२० दलमध्ये केही दलहरू सहमति र मिलनबाट एकल चुनाव चिन्ह प्रयोग गर्दै संयुक्त रूपमा प्रतिस्पर्धा गर्न उत्रिने तयारीमा छन् । १४ दल मिलेर ६ संयुक्त निवेदन दिएका छन्, जसले पार्टीहरूबीच ठूलो रणनीतिक सहकार्य देखाएको छ । १०५ दल भने आफ्नै चिह्नमा प्रतिस्पर्धा गर्न अघि सरेका छन् । आयोगले दर्ता निवेदनको छानबिन गरी २० मंसिरमा अन्तिम सूची राजपत्रमा प्रकाशित गर्नेछ, जसलाई आधार मानेर आगामी निर्वाचनमा सहभागी हुने दलहरू निश्चित हुनेछन् ।
मुख्य राजनीतिक शक्तिहरू—नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र–एकीकृत), रास्वपा, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेमकिपा, राष्ट्रिय जनमोर्चादेखि आम जनताको पार्टीसम्म सबैले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । विगतमा चुनाव बहिष्कारमा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) समेत यस पटक आधिकारिक रूपमा प्रतिस्पर्धामा फर्किएको छ ।
यसैबीच, जेन–जी आन्दोलनपछि राजनीतिक प्रवेश गरेका युवा, व्यवसायी, प्राध्यापक, पूर्व प्रशासक, अधिवक्ता, अभियन्तादेखि पत्रकारसम्म संलग्न भएर दर्ता भएका नयाँ दलहरूले यस निर्वाचनलाई विशेष बनाएका छन् । श्रम संस्कृति पार्टी हर्क साम्पाङको नेतृत्वमा जेन–जी विद्रोहपछिको पहिलो दर्ता दलका रूपमा चर्चामा छ । रोजगारी, उत्पादन र सांस्कृतिक समावेशितामा जोड दिने यस दलको समिति प्रायः युवा तथा जनजाति समुदायबाट बनेको छ । त्यसैगरी, उद्यमी वीरेन्द्रबहादुर बस्नेतको पहलमा गठन भएको गतिशील लोकतान्त्रिक पार्टीले रोजगारी सिर्जना, उद्यमशीलता र उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकतामा राख्दै व्यावसायिक तथा शैक्षिक पृष्ठभूमिका व्यक्तिहरू सहभागी गराएको छ ।
थारू समुदायको मुद्दामा स्थापित रेशम चौधरीको संरक्षकत्वमा नागरिक उन्मुक्ति पार्टी दर्ता हुँदा पहिचान र संघीयताको एजेण्डा फेरि बलियो भएर सार्वजनिक मञ्चमा आएको देखिन्छ । जेन–जी आन्दोलनका घाइते तथा नेतृत्वकर्तादेखि युवासम्म समेटिएको राष्ट्रिय परिवर्तन पार्टी प्रस्तुति, स्मृति र प्रतिरोधको राजनीति बोकेर उभिएको अर्को नयाँ शक्ति हो । उर्जा मन्त्री कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टी, अधिवक्ता रमणकुमार कर्ण नेतृत्वको जनादेश पार्टी, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी, पूर्व सांसद योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी तथा दलित समुदायको मुद्दालाई केन्द्रमा राखेको हाम्रो पार्टी नेपाल जस्ता दलहरूले यसपटक राजनीतिक विविधता अझै फैलाएका छन् ।
समावेशिता बलियो बनाउने उद्देश्यले महिला, दलित, युवा, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको नेतृत्वमा बनेका नागरिक सेवा पार्टी, समावेशी समाजवादी पार्टी तथा अन्य नयाँ दलहरूले सामाजिक न्याय र प्रतिनिधित्वका सवाललाई मुख्य एजेण्डा बनाएका छन् ।अर्कोतर्फ, दुर्गा प्रसाईंको समर्थनमा दर्ता भएको नागरिक बचाउ दलले प्रत्यक्ष प्रधानमन्त्रीय प्रणालीको मुद्दा उठाउँदै चुनावी प्रतिस्पर्धामा प्रवेश गरेको छ । जनमत पार्टीबाट बाहिरिएका नेताहरूले सर्वोदयदेखि जनसेवा पार्टीसम्मका नयाँ संरचना निर्माण गर्दै वैकल्पिक राजनीतिक मार्ग निर्माण गर्ने प्रयास देखिन् छ।
यसैबीच, केही दलहरू संयुक्त रूपमा एउटै चुनाव चिह्नसहित प्रतिस्पर्धा गर्ने सहमतिमा पुगेका छन् । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी–बहुजन एकता पार्टी–जनजागृति पार्टी, राष्ट्रिय मुक्ति पार्टी–जसपा–नागरिक उन्मुक्ति पार्टी, सचेत नेपाली पार्टी–नागरिक सर्वोच्चता पार्टी तथा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)–नेपाल कम्युनिष्ट पार्टी जस्ता गठबन्धनहरूले दलबीचको सहकार्य नयाँ स्वरूपमा विस्तार गरेको देखिन्छ ।
नेपालको निर्वाचन इतिहास हेरियो भने दलहरूको संख्यामा समयअनुसार उतारचढाव भए पनि राजनीतिक वैकल्पिक खोजी कहिल्यै थामिएको छैन । २०४८ मा २० दलबाट सुरु भएको बहुदलीय प्रतिस्पर्धा २०७० मा १२२ दल, २०७४ मा ५५ र २०७९ मा ६१ दलसम्म पुगेको थियो । यस पटक १२० दल दर्ता हुनु राजनीति क्षेत्रमा असन्तुष्टि, उथलपुथल र नयाँ पुस्ताको दाबीले चुनावलाई पुनः बहुस्तरीय बनाइदिएको संकेत हो । निर्वाचन आयोगले दर्ता प्रक्रियाअवधि भरि दलहरूलाई नछुटाउने मनसायका साथ निरन्तर सहजीकरण गरेको भन्दै कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको बताएका छन् ।
यसरी, पुराना शक्ति, वैकल्पिक समूह, पहिचान केन्द्रित राजनीति, उद्यममुखी दृष्टि, युवायुवतीको उभार र जेन–जी आन्दोलनको प्रतिरोध भावना सबै एकैसाथ मिसिएर आउँदै गरेको प्रतिनिधिसभा निर्वाचन २०८१ नेपाली राजनीतिक इतिहासकै विविधतम् र सर्वाधिक प्रतिस्पर्धी चरण बन्ने संकेत दिँदै अघि बढेको छ ।
१२ दलले दिएको निवेदन दर्ता प्रक्रियामा
यी हुन् चुनावका लागि दर्ता भएका १२० दल
देश विकास पार्टी
प्रगतिशील लोकतान्त्रिक पार्टी
देश भक्त समाज
नेपाल लोकतान्त्रिक पार्टी
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)
राष्ट्रिय स्वतन्त्र पार्टी
आम जनता पार्टी
मंगोल नेशनल अर्गनाईजेशन
बहुजन शक्ति पार्टी
नेपाल सद्भावना पार्टी
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)
नेपाल मानवतावादी पार्टी
नेपाल जनता संरक्षण पार्टी
नेपाल कम्युनिष्ट पार्टी (माले)
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)
नेपाल जनता पार्टी
राष्ट्रिय समता पार्टी नेपाल
संयुक्त नागरिक पार्टी
नेपाल जनमुक्ति पार्टी
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
राष्ट्रिय यथार्थवादी पार्टी नेपाल
नेपाल परिवार दल
राष्ट्रिय जनता पार्टी नेपाल
राष्ट्रिय जनमोर्चा
समावेशी समाजवादी पार्टी नेपाल
जनप्रजातान्त्रिक पार्टी नेपाल
विकासशील जनता पार्टी
राष्ट्रिय नागरिक पार्टी
जनता समाजवादी पार्टी (जसपा)
राष्ट्रिय परिवर्तन पार्टी
नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)
संघीय लवकतान्त्रिक राष्ट्रिय मञ्च
राष्ट्रिय एकता दल
संघीय नेपाल पार्टी
जनमत पार्टी
गतिशील लोकतान्त्रिक पार्टी
नेपाली जनश्रमदान संस्कृति पार्टी
नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा नेपाल)
राष्ट्रिय साझा पार्टी
परिवर्तन पार्टी
नेपाल समावेशी पार्टी
नेपाली कांग्रेस
खम्बुवान राष्ट्रिय मोर्चा
नेपालका लागि नेपाली पार्टी
सचेत नेपाली पार्टी
जनप्रिय लोकतान्त्रिक पार्टी
राष्ट्रिय विकास पार्टी
नेशनल रिपब्लिक नेपाल
युनाईटेड नेपाल डिमोक्रयाटीक पार्टी
जय मातृभूमि पार्टी
नेपाल नौलो जनवादी पार्टी
श्रम संस्कृति पार्टी
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
स्वाभिमान पार्टी
जन प्रजातान्त्रिक पार्टी
जनता प्रगतिशिल पार्टी नेपाल
नागरिक शक्ति नेपाल
नागरिक उन्मुक्ति पार्टी (नाउपा)
मितेरी पार्टी नेपाल
प्रगतिशील समाजवादी पार्टी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
तराई–मधेश लोकतान्त्रिक पार्टी
राष्ट्रिय समुन्नति पार्टी
जनादेश पार्टी नेपाल
राष्ट्रिय प्रजातन्त्र पार्टी
नेकपा (एमाले)
सार्वोदय नागरिक पार्टी
राष्ट्रवादी केन्द्र नेपाल
राष्ट्रिय जनमुक्ति पार्टी
राष्ट्रिय उर्जाशील पार्टी नेपाल
उज्यालो नेपाल पार्टी
नेपाली जनता दल
नागरिक सर्वोच्चता पार्टी नेपाल
आमुल परिवर्तन रिपब्लिकन पार्टी
जनजागरण पार्टी नेपाल
त्रिमुल नेपाल
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)
इतिहासिक जनता पार्टी
राष्ट्रिय कम्युनिष्ट पार्टी
प्रजातान्त्रिक पार्टी नेपाल
सामाजिक लोकतान्त्रिक पार्टी
नेपाल कम्युनिष्ट पार्टी
नेपाल नागरिक पार्टी
राष्ट्रिय सद्भावना पार्टी
गान्धिबादी पार्टी नेपाल
राष्ट्रबादी युवा मोर्चा
नेपाल मातृभूमि पार्टी
नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टी (एकल चुनाव चिन्ह)
नागरिक सेवा पार्टी
हाम्रो पार्टी नेपाल र उज्यालो नेपाल पार्टी (एकल निर्वाचन चिन्ह)
राष्ट्रिय गौरब पार्टी साविकको नेपाल राष्ट्रिय जनएकता पार्टी
उज्जवल भविष्य पार्टी
नेपाली काँग्रेस (बिपी)
अखण्ड सुदूरपश्चिम पार्टी नेपाल
राष्ट्रिय मूक्ति आन्दोलन नेपाल
समाजवादी पार्टी नेपाल
संघीय विकासवादी पार्टी नेपाल
राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह)
नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)
प्रगतिशिल नागरिक पार्टी
राष्ट्र निर्माण दल नेपाल
राष्ट्रिय जनमत पार्टी
लोक दल
सम्मुनत नेपाल पार्टी
राष्ट्रबादी एकता पार्टी
विवेकशिल साझा पार्टी
नागरिक बचाउ दल नेपाल
नेपाल जनसेवा पार्टी
उन्नत लोकतन्त्र पार्टी
देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल
आवाज पार्टी
समावेशी समाजवादी पार्टी
हाम्रो पार्टी नेपाल
नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी), नेकपा कम्युनिष्ट पार्टी (एकल चूनाव चिन्ह)
आम जनता पार्टी, जनादेश पार्टी नेपाल (एकल चुनाव चिन्ह)
सर्वोदय पार्टी
पिपुल फस्र्ट पार्टी
सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टी (एकल चूनाव चिन्ह)
जन अधिकार पार्टी
जनता लोकतान्त्रिक पार्टी नेपाल
