अख्तियार प्रमुखसहितलाई ज्यान मार्ने धम्की दिने केहि व्यक्ति पक्राउ
काठमाडौं । ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ को नामबाट देशका १० जना उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की पठाएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । प्रहरीले सो धम्कीपछि केहि व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको उच्च प्रहरी स्रोतले जनाएको छ । प्रकाश पाठक नाम गरेका व्यक्तिले आफू उक्त समूहको अध्यक्ष भएको दाबी गर्दै केही दिनअघि इमेलमार्फत प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन मन्त्रीहरू आरजु राणा, रमेश लेखक, पूर्वमन्त्री बालकृष्ण खाँणसहित १० जनालाई प्राणघातक धम्की पठाएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् । धम्की पत्रमा उनीहरूले भ्रष्टाचार र अस्थिर शासनलाई कारण देखाउँदै लक्षित व्यक्तिहरूको हत्या गर्ने निर्णय गरेको उल्लेख छ ।
पत्रमा पाठकले लक्षित व्यक्तिहरूलाई १० दिनभित्र राजीनामा दिन चेतावनी दिएका छन् । भदौ २४ गते कारागारबाट फरार भएका केही कैदीबन्दीलाई साथमा लिएर आक्रमण गर्ने योजना रहेको दाबी समेत गरिएको छ । जिम्मेवारी भने आफूले लिने उल्लेख गरिएको छ । काभ्रे घर बताउने पाठकले अहिले भारतमा रहेको दाबी गर्दै आएका छन् । उनले सामाजिक सञ्जालमार्फत भिडियो प्रकाशित गर्दै आफूलाई समूहको अध्यक्ष बताउँदै १० जनामाथि आक्रमण गर्ने योजना सुनाएका छन् । भिडियोमा उनले नेपाल प्रहरी आफूमाथि कडा चासोका साथ खोजी गरिरहेको दाबी गर्दै प्रहरीका विभिन्न निकायले आफ्ना सहयोगीलाई पक्राउ गरिरहेको आरोप लगाएका छन् ।
उनका अनुसार भारतीय विभिन्न सहरमा लुकेर बसेका स्थानहरूमा नेपाली सुराकीका आधारमा प्रहरी पुगिरहेको पनि उनले बताए । आफू लगातार बसोबास परिवर्तन गर्न बाध्य भएकाले पक्राउ गर्न नसक्ने उनको दाबी छ । उनले अख्तियार प्रमुख राईलाई लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति समेत दिएका छन् । उक्त घटनालाई गम्भीररूपमा लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) सहित अन्य इन्टिलिजेन्स यूनिटहरूले पाठक र उनको समूहबारे विस्तृत खोजी गरिरहेका छन् । समूह कति संगठित र ठूलो छ भन्नेबारे प्रहरीले अझै सार्वजनिक जानकारी दिएको छैन ।
धम्कीपछिका गतिविधि, मानिसहरूलाई नियन्त्रणमा लिएर भइरहेको अनुसन्धान र डिजिटल प्रमाण संकलनका आधारमा प्रहरीले घटनालाई आतंककारी प्रकृतिको सम्भावना राखेर अघि बढाइरहेको बताइएको छ ।
