कारागारमा महिला प्रहरीसँग चिनजान, छुटेपछि उनकै हत्या गरेर फरार
काठमाडौं । व्यक्ति हत्यामा दोषी ठहरिर कारागार पुगेका व्यक्तिले छुटेपछि फेरि अर्को हत्या गरेका छन् । लमजुङमा गत चैतमा भएको पूर्व प्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सात महिनापछि पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले उक्त घटनामा पक्राउ पुर्जी जारी गरिएका चितवनको रत्ननगर नगरपालिका–६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो ।
उनले पूर्व प्रहरी हवल्दार ४५ वर्षीया सीता कँडेलको हत्या गरेको सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । ३१ चैत २०८१ मा लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेको एक घरमा दुर्घन्ध आएको भन्दै प्रहरीमा खबर भएको थियो । बाहिरबाट ताला लागेको उक्त घरको ढोका प्रहरीले फोडेर हेर्दा भित्र महिलाको शव भेटिएको थियो ।
आफू सुत्ने बक्स पलङमुनि त्रिपालले बेरेर राखिएको अवस्थामा कँडेलको शव फेला परेको थियो । हत्या गरेर बक्स पलङमुनि लुकाएको पाइएपछि अनुसन्धानका लागि सीआईबीको टोली समेत परिचालन भएको थियो । सो क्रममा हत्यामा बुद्धिरामको संलग्नता खुलेको थियो । बुद्धिरामलाई सीआईबीले रुपन्देहीको नेपाल–भारत सीमा क्षेत्रबाट बिहीबार पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय लमजुङमा बुझाइएको छ । अनुसन्धानको क्रममा बुद्धिराम यसअघि पनि व्यक्ति हत्या गरेर जेल बसेको व्यक्ति रहेको खुलेको छ ।
यसअघि विवाहको विषयमा विवाद हुँदा गोरखाको साविक फिनाम गाविस–५ कि ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या गरेका थिए । उनकी छोरी सम्झना पाण्डेसँग विवाहको कुरामा विवाद भएपछि आमाको हत्या बुद्धिरामले गरेका थिए । यो घटनामा उनी कारागार चलान भएका थिए । भीमफेदी कारागारमा रहँदा त्यहाँको सुरक्षामा खटिएका हवल्दार (हाल मृत) सीतासँग बुद्धिरामको चिनजान र निकट सम्बन्ध रहेको थियो । पछि जेलबाट छुटेपछि उनै बुद्धिरामले अवकाश भएकी पूर्व हवल्दार कँडेलको हत्या गरेको सीआईबीले जनाएको छ ।
