आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौं : अध्यक्ष पाण्डे
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राख्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आर्थिक मुद्दाहरुलाई पहिलो प्राथमिकता दिएर तथ्यपरक समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
विदेशी विनिमय सञ्चिति समानान्तर वचतको हिसावले वाह्य क्षेत्र राम्रो रहेको तर वाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्र चापमा रहेको उल्लेख गरे । बैंकमा लगानीयोग्य रकम रहेको, ब्याज एकल बिन्दुमा भए पनि समग्र बजारको माग बढ्न नसकेको उनले बताए । मागमा वृद्धि आउन नसक्दा उद्योगधन्दाहरु न्युन क्षमतामा सञ्चालन भइरहेका बताए । अहिलेको सबैभन्दा ठूलो चुनौति प्रणालीमा रहेको लगानीयोग्य रकम स्थिर हुनु रहेको उनको भनाइ छ ।
उनले भने, ‘राजनीति भन्दा माथि आर्थिक मुद्दाहरुलाई पहिलो प्राथमिकता दिएर तथ्यपरक समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछु । निजी क्षेत्रका तथ्यपरक आवाजहरुलाई आफ्नो आफ्नो सञ्चारमाध्यमबाट सरकार, नियामक निकाय, सर्वसाधारणसम्म पुर्याउनु भएको छ । विदेशी विनिमय सञ्चिति समानान्तर वचतको हिसावले वाह्य क्षेत्र राम्रो छ । वाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्र चापमा रहेको छ ।’
उनले भने, ‘बैंकमा लगानीयोग्य रकम छ, ब्याज एकल बिन्दुमा छ, समग्र बजारको माग बढ्न सकेको छैन । मागमा वृद्धि आउन नसक्दा उद्योगधन्दाहरु न्युन क्षमतामा सञ्चालन भइरहेका छन् । अहिलेको सबैभन्दा ठूलो चुनौति हाम्रो प्रणालीमा रहेको लगानीयोग्य रकम स्थिर हुनु हो जस्तो लाग्छ । पैसा स्थिर बस्नु भनेको अर्थतन्त्रका लागि राम्रो होइन ।’ उनले निजी क्षेत्रको लगानी बढ्यो भने मात्रै मुलुकको अर्थतन्त्र बलियो र विस्तार हुने बताए । अर्थतन्त्र सुदृढ भए मात्रै मुलुक समृद्ध हुने उनले बताएका छन् ।
