`

अवसरबाट वञ्चित भएकाहरूलाई राज्यले प्राथमिकता दिनुपर्छ : उपसभामुख चापागाईं

Nepal One HD २४ मंसिर २०८२ १९:१५
राजनीति

बागमती – बागमती प्रदेशका उपसभामुख अप्सारा चापागाईंले अवसरबाट वञ्चित भएका नागरिकलाई राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

विश्व मानव अधिकार दिवसका अवसरमा आज हेटौँडामा आयोजित ‘‘मानव अधिकार र आम निर्वाचन’ विषयक अन्तरपुस्ता संवाद कार्यक्रममा उपसभामुख चापागाईंले मावअधिकारको बहसलाई ठूला र पहुँचवालाहरूको घेराबाट बाहिर निकालेर पीडित र अवसरबाट वञ्चित उत्पीडित सीमान्तकृत समुदायसम्म पुर्‍याउनुपर्ने बताउनुभयो ।

“अहिलेसम्म मानव अधिकारको बहस टाठाबाठा र पहुँचवालाहरूको घेरामा मात्र सीमित हुँदै आएको छ”, उपसभामुख चापागाईंले भन्नुभयो, “अब त्यो बहसलाई गरिब, दलित र अवसरबाट वञ्चित समुदायका लागि केन्द्रित गर्नुपर्छ ।” मानवअधिकारको बहसलाई सरकारको तीनवटै अङ्गका विषयहरूसँगै प्राकृतिक स्रोतसाधनको विषयलाई पनि समेट्नुपर्नेमा जोड दिनुहुँदै उहाँले जल, जङ्गल र जमिनभित्रको मानव अधिकारको विषयलाई पनि उठाउनुपर्ने बताउनुभयो ।

प्रदेशसभाले हालसम्म ९१ वटा कानुन निर्माण गरिसकेको र सो कानुन कार्यान्वयनको चरणमा रहेको बताउँदै उहाँले कानुनमा युवापुस्ताका सवालहरूलाई समेट्न आवश्यक परे संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा युवापुस्ताका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिहरूले मानव अधिकारको सवालमा आ–आफ्ना धारणा राख्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *