नागरिक उडययन् प्राधिकरणका प्रबन्धक मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक एवं पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुनकर्मीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध करिब ढाई करोड रुपैयाँ विगो कायम गरी, त्यसअनुसार जरिवाना, कैद सजाय र स्रोत नखुलेको सम्पत्तिबाट बढेको रकम जफत गर्ने माग गरिएको छ । मुनकर्मीले २०५४।११।०१ देखि २०८०।०८।१४ सम्म सरकारी पदमा कार्यरत रहँदा आफ्नो पारिश्रमिक, बचत, जग्गा बिक्री, ऋणरसापटी आय, शेयर तथा लाभांश, बोनस र अन्य वैधानिक आयका स्रोतहरूको कुल र ३ करोड ७३ लाख ८१ हजार ४४४।२० मात्र आर्जन गरेका थिए । तर सो अवधिमा मुनकर्मी र उनको परिवारले जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, सुनको गरगहना, विमा भुक्तानी, अध्ययन शुल्क, ऋण तिर्ने, व्यवसायमा लगानी तथा बैंकरसहकारी खातामा जम्मा रकम गरी ६ करोड २४ लाख १५ हजार ९६१।३९ खर्च गरेको देखियो । यस अनुसार कुल आय भन्दा कुल व्ययमा २ करोड ५० लाख ३४ हजार ५१७।१९ बढी भएको पाइएको छ ।
उक्त रकमको स्रोत पुष्टि भएको नदेखिएकोबाट मुनंकर्मीले उक्त रकम बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको तथ्य प्रचलित कानून बमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको अनुसन्धानबाट देखिएको छ । उनले मनासिव कारण बिना वैधानिक आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएको तथा सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमतीको नाममा सम्पत्तिहरु खरिद गरेको देखिएको छ । मुनंकर्मी र उनको श्रीमती पूर्ण केशरी गोसाईमाथि बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियारले पोखरा विमानस्थल बनाउन भएको ठेक्का सम्झौतासम्मको ‘भ्रष्टाचार’ मा ५ पूर्वमन्त्री र ९ पूर्वसचिवसहित ५६ विरुद्ध मुद्दा दायर गरिसकेको छ । विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको संसदीय छानबिन समितिको निष्कर्ष छ । अख्तियारले निर्माणमा भएको यही हिनामिनामाथि अनुसन्धान थालेको हो ।
