`

एमाले महाधिवेशन : मतगणनाको घडी सुरु, कति बजेसम्ममा आउला नतिजा ?

Nepal One HD ३ पुष २०८२ ८:००
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएसँगै मत गणनाको तयारी तीव्र पारिएको छ। साढे २१ घण्टा लामो मतदान प्रक्रिया बिहीबार बिहान करिब ७ बजे सकिएको हो ।

केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार बुधबार बिहान ९ः२० बजे विद्युतीय भोटिङ मेसिनमार्फत सुरु भएको मतदान निर्धारित समयभन्दा लामो समय चलेर आज बिहान सम्पन्न भएको हो । मतदान सकिएलगत्तै मतगणनाको तयारी थालिएको र आवश्यक प्राविधिक तथा प्रक्रियागत काम पूरा भएपछि गणना सुरु गरिने उनले जानकारी दिए । उनका अनुसार मतगणना सुरु भएको करिब दुईदेखि तीन घण्टाभित्र प्रारम्भिक परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।

यसैबीच केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले पनि मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको पुष्टि गर्दै बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको जानकारी दिए । मतगणनाअघि मुचुल्का उठाउने र उम्मेदवार तथा प्रतिनिधिबीच आवश्यक सहमति कायम गर्न केही समय लाग्ने भएकाले नतिजा आउन तीन घण्टा जति लाग्न सक्ने उनको भनाइ छ ।

महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा २ हजार २ सय २७ जनाले मात्र मतदान गरेका छन् । विभिन्न कारणले ३६ जना प्रतिनिधि मतदानमा सहभागी हुन नसकेको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो ।

नयाँ नेतृत्व चयनका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । यस बाहेक दुवै प्यानलमा नअटाएका केही उम्मेदवारहरूले स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिएका छन् । ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि करिब ६४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । लामो समय चलेको मतदानपछि अब सबैको चासो मतगणनाको परिणामतर्फ केन्द्रित भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा मतगणनाको अन्तिम तयारी भइरहेकाले आजै नयाँ नेतृत्वको चित्र स्पष्ट हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *