विराटनगरका दुई क्यासिनोमा एकैसाथ छापा, व्यवस्थापकसहित २० नेपाली नियन्त्रणमा
विराटनगर । विराटनगरमा सञ्चालनमा रहेका दुई क्यासिनोमा प्रहरीले एकैसाथ छापा मारेर व्यवस्थापकसहित २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । आइतबार मध्यराति गरिएको कारबाहीमा बिग होटलभित्रको च्याम्पियन जोन क्यासिनो र रत्ना होटलभित्रको गोल्डेन क्यासिनोबाट नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको हो । नेपालको कानुनअनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेश निषेध छ । तर विराटनगरका यी क्यासिनोमा लामो समयदेखि नेपालीहरूको सहज आवतजावत भइरहेको र त्यसकै कारण विभिन्न विवाद तथा झगडाका घटना बाहिरिँदै आएका थिए । यिनै गतिविधिलाई आधार मानेर प्रहरीले निगरानी बढाउँदै छापा मारेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रमुख कबित कट्वालका अनुसार रत्ना होटलमा सञ्चालित गोल्डेन क्यासिनोबाट १४ जना र बिग होटलको च्याम्पियन जोन क्यासिनोबाट ६ जना नेपालीलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पनि रहेका छन् । प्रहरीले पक्राउ परेकाहरूलाई जुवा ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ । क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्न दिएको पुष्टि भएपछि कानुनी कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ ।
विगत केही महिनायता विराटनगरका क्यासिनोहरू विवादको केन्द्र बन्दै आएका थिए । गत चैत ३ गते रत्ना होटलको क्यासिनो परिसरमा क्यासिनो विवादकै विषयलाई लिएर दुई समूहबीच कुटाकुट हुँदा किरण लामा, रोनाल कँडेल र अभिषेक गिरी घाइते भएका थिए । त्यसअघि २०८० पुस २८ गते बिग होटलमा रहेको क्यासिनोमा जुवा खेल्ने क्रममा सुरु भएको विवादले उग्र रूप लिँदा क्यासिनो बाहिर दुई समूहबीच खुकुरी हानाहानसमेत भएको थियो । उक्त घटनामा विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका थिए । बारम्बार झगडा, अवैध प्रवेश र आपराधिक गतिविधि बढ्दै गएपछि प्रहरीले क्यासिनोमाथि कडा निगरानी राख्दै आएको थियो । पछिल्लो छापालाई क्यासिनोभित्र हुने गैरकानुनी गतिविधि नियन्त्रणतर्फको महत्वपूर्ण कदमका रूपमा प्रहरीले लिएको छ ।
