एमालेले आज सातै प्रदेश र ७७ जिल्ला कमिटीको ‘भर्चुअल’ बैठक गर्दै
काठमाडौं । नेकपा (एमाले) ले एघारौं महाधिवेशनबाट पारित निर्णय र राजनीतिक सन्देश संगठनका सबै तहसम्म प्रवाह गर्ने उद्देश्यका साथ आज सातै प्रदेश र देशभरका ७७ वटै जिल्ला कमिटीको संयुक्त भर्चुअल बैठक आयोजना गरेको छ। पार्टी संगठनलाई एकै पटक सम्बोधन गर्ने लक्ष्यसहित जुममार्फत हुने यो बैठक मंगलबार दिउँसो २ बजे सुरु हुने बताइएको छ ।
बैठकलाई एमालेका महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार महाधिवेशनपछि पहिलो पटक यति ठूलो संख्यामा पार्टी संरचनालाई एउटै मञ्चबाट जोड्ने उद्देश्यले भर्चुअल बैठकको आयोजना गरिएको हो । उनका अनुसार जिल्ला कमिटीका पदाधिकारीदेखि सचिवालय सदस्यसम्म तथा प्रदेश कमिटीका पदाधिकारीसहित सम्पूर्ण सदस्यलाई बैठकमा सहभागी हुन आवश्यक जुम आइडी र विवरण पठाइसकिएको छ ।
महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व, त्यसको जिम्मेवारी, वर्तमान राष्ट्रिय राजनीति, पार्टीको भूमिकालगायत विषयमा महासचिव पोखरेलले स्पष्ट धारणा राख्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए । उनले महाधिवेशनका प्रारम्भिक निर्णय र राजनीतिक निष्कर्ष जनस्तर र पार्टीपंक्तिसम्म पुर्याउने उद्देश्यले बैठक राखिएको बताए । बैठकमार्फत स्थानीय तहमा भइरहेका पार्टी गतिविधि, जनप्रतिनिधि र संगठनबीचको समन्वय, तथा महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशालाई व्यवहारमा उतार्ने विषयमा समेत निर्देशन दिइने एमालेले जनाएको छ । पार्टीले संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउँदै आगामी राजनीतिक चुनौतीको सामना गर्न कार्यकर्ता पंक्तिलाई स्पष्ट मार्गदर्शन दिन यस बैठकलाई महत्वपूर्ण रूपमा लिएको बताइएको छ ।
