योगेश भट्टराईको ६ शब्दको स्टाटसले एमालेमा तरङ्ग
काठमाडौं । एमालेका नव निर्वाचित उपमहासचिव योगेश भट्टराईको ६ शब्दको एउटा स्टाटसले कार्यकर्तामा तरङ्ग सिर्जना गरेको छ । नेता भट्टराईले मंगलबार साँझ आफ्ना दुई तस्बिरसहित लेखेको ६ शब्दको स्टाटसलाई लिएर एमालेका नेता कार्यकर्ताले विभिन्न टिप्पणी गरिरहेका छन्। मंगलबार साँझ घाम अस्ताउँदै गरेको दृश्यसहित भट्टराईले सामाजिक सञ्जालमा आफ्ना दुई तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘मित्रहरू, घाम अस्ताएको हो, जीवन होइन!’
उनको यो स्टाटस द्विअर्थी भएको भन्दै एमालेकै नेता–कार्यकर्ताले विभिन्न टिप्पणी गरिरहेका छन् । कतिपयले यस्ता अभिव्यक्तिले एमालेलाई कमजोर बनाउने भन्दै ख्याल गर्न भनेका छन् । एमालेकै केही कार्यकर्ताले भने पार्टीलाई मजबुद बनाउनेतिर लाग्नु भन्दा कमजोर बनाउनेतिर लागेको भन्दै उनको आलोचना गरेका छन् । भट्टराई एघारौँ महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट एमाले उपमहासचिवमा विजयी भएका नेता हुन् । महाधिवेशनपछि अध्यक्ष ओलीले आइन्दा पार्टी नेतृत्वको आलोचना नगर्न भने पनि ईश्वर पोखरेल पक्षका नेताहरूले भने ओलीको आलोचना गर्न छाडेका छैनन् ।
