तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
बङ्गलादेशको प्रभावशाली राजनीतिक परिवारका उत्तराधिकारी तथा प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का नेता तारिक रहमान १७ वर्षको निर्वासन अन्त्य गर्दै स्वदेश फर्कने तयारीमा रहनुभएको छ । लामो समयदेखि लन्डनमा बसोबास गर्दै आउनुभएका उहाँ आगामी प्रमुख आमनिर्वाचनअघि ढाका आइपुग्ने तयारीमा हुनुहुन्छ ।
६० वर्षीय रहमानले सन् २००८ मा आफूविरुद्ध राजनीतिक रूपमा प्रेरित उत्पीडन भएको आरोप लगाउँदै बङ्गलादेश छोड्नुभएको थियो । बिएनपीका कार्यवाहक अध्यक्ष रहनुभएका उहाँले बिरामी आमाबाट पार्टीको नेतृत्व सम्हाल्ने अपेक्षा गरिएको छ । उहाँकी आमा, ८० वर्षीया पूर्वप्रधानमन्त्री खालिदा जिया लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएको छ ।
स्वास्थ्य समस्या र कारावासको कठिन समय बिताउनुभए पनि जियाले नोभेम्बरमा सन् २०२६ फेब्रुअरी १२ मा हुने आमनिर्वाचनमा प्रचार गर्ने घोषणा गर्नुभएको थियो । तर त्यसको केही समयपछि उहाँ अस्पताल भर्ना हुनुभएको छ र हाल सघन उपचार कक्षमा उपचाररत हुनुहुन्छ ।
यो निर्वाचन पूर्वप्रधानमन्त्री शेख हसिनाको करिब १५ वर्ष लामो शासनपछि हुने पहिलो चुनाव हो । गत वर्षको जनआन्दोलनपछि शेख हसिनाको शासन अन्त्य भएको थियो । शेख हसिनासँग बिएनपीको लामो समयदेखि तीव्र राजनीतिक प्रतिस्पर्धा रहँदै आएको छ ।
शेख हसिना सत्ताबाट बाहिरिएपछि रहमानमाथि लगाइएका केही गम्भीर अभियोगहरू खारेज गरिएका छन् । सन् २००४ मा शेख हसिनाको र्यालीमा भएको ग्रेनेड आक्रमणको षड्यन्त्रमा संलग्न रहेको आरोपमा उहाँलाई अनुपस्थितिमै आजीवन कारावासको सजाय सुनाइएको थियो, जसलाई उहाँले सधैँ अस्वीकार गर्दै आउनुभएको छ ।
बिएनपीका महासचिव मिर्जा फखरूल इस्लाम आलमगीरले डिसेम्बर २५ मा रहमान ‘ढाकाको भूमिमा हामीबीच आइपुग्ने’ बताउँदै त्यस दिनलाई पार्टीका लागि ऐतिहासिक र उत्साहजनक हुने उल्लेख गर्नुभएको छ ।
राजनीतिमा प्रवेश गर्नु अघि ढाका विश्वविद्यालयमा अध्ययन गर्नुभएका रहमान युवावस्थामै बिएनपीमा सक्रिय हुनुभएको थियो । उहाँका पिता जियाउर रहमान पूर्वराष्ट्रपति तथा सेना प्रमुख हुनुहुन्थ्यो । उहाँको हत्या रहमान १५ वर्षको हुँदा भएको थियो । त्यसपछि उहाँ आफ्नी आमाको राजनीतिक छायामा हुर्कनुभएको थियो ।
रहमानको राजनीतिक यात्रामा विवाद पनि जोडिएका छन् । उहाँमाथि भाई–भतिजावाद र भ्रष्टाचारको आरोप लाग्दै आएका छन्, जसलाई उहाँले सधैँ राजनीतिक प्रतिशोधको परिणाम भन्दै खारेज गर्नुभएको छ । सन् २००७ मा भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि हिरासतमा यातना दिइएको दाबीसमेत उहाँले गर्नुभएको थियो । उपचारका लागि लन्डन गएका उहाँ त्यसपछि लामो समय स्वदेश फर्कन सक्नुभएको थिएन ।
बेलायतमा रहँदा उहाँले परिवारसँग शान्त जीवन बिताउनुभएको थियो । तर शेख हसिनाको शासन अन्त्यपछि उहाँ सामाजिक सञ्जालमार्फत सक्रिय रूपमा देखिन थाल्नुभएको छ र बिएनपी समर्थकहरूका लागि आशा र एकताको केन्द्रको रूपमा उदाउनु भएको छ ।
