बालेनसँगको भेटबारे के भन्छन् ज्ञानेन्द्र शाही ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीबीच भएको भेटवार्ताले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ । बुधबार साँझ बालेनका सल्लाहकार कुमार बेनको कुपण्डोलस्थित निवासमा भएको यो भेटलाई आगामी निर्वाचन र नयाँ राजनीतिक ध्रुवीकरणसँग जोडेर हेरिएको छ ।
भेटपछि प्रतिक्रिया दिँदै राप्रपा प्रवक्ता शाहीले मेयर बालेनले युवाशक्ति एकजुट भएर अघि बढ्नुपर्ने प्रस्ताव राखेको जानकारी दिए । उनका अनुसार बालेनको सन्देश स्पष्ट थियो–हिजो सँगै संघर्ष गरिएको हो, आज पनि सँगै काम गर्न सकिन्छ र जहाँ–जहाँ भए पनि युवाहरू एकजुट हुनुपर्छ । यो भेटलाई सामान्य शिष्टाचारभन्दा पनि गहिरो राजनीतिक संवादको रूपमा लिइएको छ । निर्वाचन नजिकिँदै जाँदा बालेनले आफ्नै नेतृत्वमा वैकल्पिक राजनीतिक शक्तिलाई संगठित गर्ने तयारी तीव्र बनाएका छन् । यही क्रममा विभिन्न दलका नेता, अभियन्ता, बुद्धिजीवी र सार्वजनिक व्यक्तित्वहरूसँग निरन्तर छलफल भइरहेको स्रोतहरू बताउँछन् ।
बुधबार रातिसम्म चलेको छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, चिकित्सक डा. भगवान् कोइराला, राप्रपाका ज्ञानेन्द्र शाही, युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवेकशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया र सञ्चारकर्मी सुरजसिंह ठकुरीलगायतको सहभागिता रहेको थियो । छलफलका क्रममा मेयर बालेनले यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको ‘देश विकास पार्टी’ र त्यसको चुनाव चिन्ह ‘लौरो’ प्रयोग गरेर संगठित रूपमा अघि बढ्ने योजना सुनाएको स्रोतको दाबी छ । यसले बालेन अब केवल स्थानीय तहका प्रशासकमा सीमित नरही राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा आउन खोजिरहेका छन् भन्ने संकेत गरेको छ ।
यसअघि सोमबार राति कमलपोखरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र मेयर बालेनबीच पनि लामो छलफल भएको थियो । उक्त छलफलमा सरकार र पार्टीको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा समेत अनौपचारिक प्रस्तावहरू उठेका थिए । स्रोतका अनुसार हालको चरणमा सरकारको नेतृत्व बालेनले गर्ने र पार्टीको नेतृत्व रविले सम्हाल्ने, तथा अर्को निर्वाचनपछि सरकारको नेतृत्व रविले गर्ने र बालेनले सहयोगी भूमिका खेल्ने जस्ता विषयमा पनि विचार–विमर्श भएको थियो ।
ज्ञानेन्द्र शाही २०७९ सालको निर्वाचनमा जुम्लाबाट निर्वाचित सांसद हुन् । उनले संसदमा बालेनको कार्यशैलीको खुलेर प्रशंसा गर्दै काम गर्न दिनुपर्ने धारणा राख्दै आएका छन् । आसन्न निर्वाचनमा शाहीलाई विभिन्न स्थानबाट उम्मेदवार बन्न प्रस्ताव आएको बताइन्छ, जसले उनी पनि नयाँ राजनीतिक समीकरणको केन्द्रमा रहेको देखाउँछ । बालेन अहिले पनि विभिन्न व्यक्तिहरूसँग निरन्तर छलफलमा जुटिरहेका छन् । यी भेटघाट र संवादहरूले नेपाली राजनीतिमा परम्परागत दलभन्दा बाहिर उभिएको, युवा केन्द्रित र वैकल्पिक शक्तिको सम्भावना बलियो बन्दै गएको संकेत गरेका छन् । आगामी दिनमा यी छलफलहरू ठोस राजनीतिक संरचनामा रूपान्तरण हुन्छन् कि हुँदैनन् भन्ने चासो सर्वत्र बढिरहेको छ ।
