जेनजी एकजुट गर्ने जिम्मा रक्षालाई, बालेनसँग खोजिन् सैद्धान्तिक सहकार्यको आधार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी (जेनेरेसन जेड) प्रतिनिधिहरूलाई एक ठाउँमा ल्याउने जिम्मेवारी जेनजी फ्रन्टकी संयोजक रक्षा बमलाई दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक शक्तिहरूलाई संगठित गर्ने उद्देश्यसहित यो जिम्मेवारी दिइएको हो ।
बुधबार ललितपुरको कुपण्डोलस्थित आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको निवासमा बालेन र रक्षा बमबीच करिब तीन घण्टा लामो राजनीतिक संवाद भएको थियो । उक्त छलफलमा बालेनको सचिवालयका सदस्यहरू समेत सहभागी थिए । छलफलमा जेनजी प्रतिनिधित्व, वैकल्पिक राजनीतिक शक्तिको सम्भावना र भावी सहकार्यका आधारबारे गहन कुराकानी भएको जनाइएको छ ।
बालेनले देश विकासका लागि नयाँ राजनीतिक संरचना आवश्यक रहेको उल्लेख गर्दै जेनजी प्रतिनिधिलाई पनि ‘देश विकास पार्टी’ मार्फत समावेश गर्न चाहेको संकेत गरेका छन् । यही सन्दर्भमा जेनजीका विभिन्न समूह, सहिद परिवार तथा युवा अभियन्ताहरूसँग संवाद गरी वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न रक्षा बमलाई संयोजनको भूमिका दिइएको हो ।
छलफलका क्रममा रक्षा बमले सहकार्यका लागि सैद्धान्तिक स्पष्टता खोजेकी थिइन् । उनले संविधान, संघीयता, लोकतन्त्र र प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता विषयमा प्रश्न उठाएकी थिइन् । बालेनले संविधान र संघीयता आवश्यक रहेको र समस्या कार्यान्वयनमा देखिएको धारणा राखेका थिए । यी जवाफपछि आफू सहकार्यप्रति विश्वस्त भएको रक्षा बमले बताइन् ।
दुवै पक्षबीच ‘इमानदारिता र निःस्वार्थ देशसेवा’ लाई साझा धरातलको रूपमा पहिचान गरिएको छ । वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिन सक्ने सम्भावनाबारे सकारात्मक छलफल भएको र जेनजीलाई संगठित गर्न रक्षा बमले सक्रिय भूमिका खेल्ने सहमति बनेको छ । बालेनले रक्षा बमलाई निर्वाचनमा प्रत्यक्ष वा समानुपातिकमध्ये कुनै एक विकल्प रोज्न पनि अनुरोध गरेका छन् । यद्यपि यस विषयमा अन्तिम निर्णय भइनसकेको बताइएको छ । प्रतिनिधिसभा निर्वाचनको बन्दसूची बुझाउने समय नजिकिँदै जाँदा बालेन पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवादमा जुटिरहेका छन् ।
