`

निर्वाचनको सम्भावना छैन : ओली

Nepal One HD १० पुष २०८२ १४:२८
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन्। पार्टीको ११औँ महाधिवेशन सफल बनाउन भूमिका खेलेका स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाले निर्वाचनका लागि अनुकूल वातावरण नबनेको बताए । अध्यक्ष ओलीले सरकारको गतिविधिले समाजमा भय र त्रासको वातावरण सिर्जना भएको आरोप लगाए । उनका अनुसार नेताहरूमाथि प्रतिबन्ध लगाउने, अखबारबाजी गर्ने, सामाजिक सञ्जालमार्फत दुस्प्रचार गर्ने तथा मिडिया ट्रायल जस्ता कार्यहरू निरन्तर भइरहेका छन्, जसले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको छलफलको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले एमाले निर्वाचनविरोधी नभई प्रतिगमनविरोधी भएको धारणा स्पष्ट रूपमा राखिएको जानकारी दिए । उनले असंवैधानिक ढंगले सरकार गठन भएको आरोप लगाउँदै सकेसम्म छिटो संसद्को पुनःस्थापना आवश्यक रहेकोमा जोड दिए । अध्यक्ष ओलीले विघटित संसद् पुनःस्थापनाको मागमा एमाले अडिग रहेको बताउँदै अदालतले गर्ने निर्णयको कार्यान्वयन सबैले स्वीकार गर्नुपर्ने सहमति भएको पनि उल्लेख गरे । ‘हामीले चुनाव हुनु हुँदैन भनेका छैनौँ, प्रतिगमन हुनु हुँदैन भनेका हौं’, उनले भने ।

उनले पछिल्लो समय ‘जेन–जी’ को नाममा केही व्यक्तिहरूले समाजमा अराजकता फैलाउने र भय सिर्जना गर्ने गतिविधि गरिरहेको टिप्पणी पनि गरे । नव युवाहरूको नाम बेचेर केही ‘छट्टु टाठाबाठा’ हरूले आफ्नो स्वार्थ पूरा गरिरहेको उनको आरोप थियो । अध्यक्ष ओलीका अनुसार वर्तमान अवस्थामा न त निर्वाचनको वातावरण बनेको छ, न त बन्ने कुनै लक्षण देखिएको छ । त्यसैले तत्काल निर्वाचनको सम्भावना नरहेको उनको निष्कर्ष थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *