बालेन–कुलमान ‘प्याकेज’ संवाद, नयाँ शक्ति निर्माणको दौड तीब्र
काठमाडौं । नयाँ राजनीतिक शक्ति निर्माणको गृहकार्यमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङबीच गम्भिर छलफल भएको छ । बिहीबार बिहान भएको ‘वान टु वान’ भेटमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर सहकार्य, पावर शेयरिङ र एउटै राजनीतिक प्लेटफर्मबाट अघि बढ्ने विकल्पबारे कुराकानी भएको स्रोतले जनाएको छ ।
छलफलमा नयाँ पार्टी दर्ता गर्नुअघि विद्यमान राजनीतिक संरचनालाई नै सुदृढ गर्दै अघि बढ्ने विषय उठेको बताइएको छ । निर्वाचन आयोगमा दर्ता भइसकेको देश विकास पार्टीलाई अगाडि सार्नेबारे पनि सहमति खोजिएको दाबी छ । कुलमानको उपस्थितिमा उज्यालो पार्टीको कार्यालय उद्घाटन हुनुअघि नै यो भेटवार्ता भएको थियो ।
फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दुवै नेताले समानान्तर रूपमा संवाद तीव्र पारेका छन् । बालेन आगामी चुनावमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एजेन्डामा देखिएका छन् भने कुलमानले पनि आफूलाई प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्ट’ गरिरहेका छन् । यद्यपि बिहीबारको भेटबाट ठोस निष्कर्ष भने ननिस्किएको स्रोतको भनाइ छ । ‘संवाद चलिरहेको छ, प्याकेजमै सहमति खोज्ने प्रयास भइरहेको छ’, कुलमान निकट स्रोतले जनाएको छ ।
यसैबीच बालेनले विभिन्न दल र क्षेत्रका प्रभावशाली व्यक्तिसँग भेटघाटलाई तीव्र बनाएका छन् । उनले चिकित्सक डा. भगवान कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सीके राउतसँग छलफल गरिसकेका छन् । साथै महानगरका सल्लाहकार सुनिल लम्सालसहित पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्व उपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, रक्षा बम, केपी खनालसँग पनि भेटवार्ता भएको बताइएको छ ।
कलाक्षेत्र र मिडियाबाट निश्चल बस्नेत, सम्भव सिरोहिया, सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमलासँग पनि बालेनको छुट्टाछुट्टै संवाद भएको छ । आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट हुने तयारी छ । यसअघि सोमबार राति बालेन–रविबीच छलफल भइसकेको थियो ।
कुलमानसँगको पछिल्लो भेटपछि रविसँग संवाद अघि बढाइनु राजनीतिक ‘प्याकेज’ निर्माणतर्फको संकेतका रूपमा हेरिएको छ । मंसिर १४ गते पनि बालेन–कुलमान भेट भइसकेको पृष्ठभूमिमा अहिलेको संवादले नयाँ गठबन्धन वा एउटै राजनीतिक शक्तिको सम्भावनालाई थप चर्काएको छ ।
