`

सिरियाको मस्जिदमा भएको आतङ्कवादी आक्रमण अस्वीकार्य छ – राष्ट्रसङ्घ

Nepal One HD १२ पुष २०८२ १८:२५
विश्व

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सिरियाको होम्सस्थित अली बिन अबी तालिब मस्जिदमा शुक्रबारको प्रार्थनाका क्रममा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै यो घटना अस्वीकार्य भएको बताउनु भएको शनिबार छ । उहाँले घटना प्रति शोक व्यक्त गर्दै परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नु भएको छ ।

सामाजिक सञ्जाल एक्समा गुटेरेसले “सिरियाको होम्सस्थित अली बिन अबी तालिब मस्जिदमा प्रार्थनाका क्रममा भएको घातक आक्रमण लगाएत नागरिक र पूजा स्थलहरूमा हुने आक्रमणहरू अस्वीकार्य भएको जनाउनु भएको हो ।

सिरियाको इमाम अली इब्न अबी तालिब मस्जिदमा भएको विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको र १८ जना घाइते भएको जनाइएको छ ।

सिरियाको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै प्रारम्भिक तथ्याङ्क अनुसार विस्फोटमा आठ जनाको मृत्यु भएको हुनुका साथै अन्य १८ जना घाइते भएको एएनआइले बताएको छ ।

पीडितहरूलाई थप उपचारका लागि होम्सको करम अल–लुज अस्पतालमा सारिएको पनि उल्लेख गरिएको छ ।आन्तरिक मन्त्रालयले आन्तरिक सुरक्षा युनिटहरू घटना स्थलमा तैनाथ गरेको र मध्य सिरियाको होम्सको वाडी अल–दहाब जिल्लाको मस्जिद वरिपरि सुरक्षा घेरा स्थापना गरेको बताएको छ ।

सम्बन्धित अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् र आपराधिक कार्यका लागि जिम्मेवारहरूलाई पत्ता लगाउन प्रमाण सङ्कलन गर्न थालेका छन् ।एक सुरक्षा स्रोतले प्रारम्भिक अनुसन्धानका आधारमा मस्जिदभित्र राखिएको विस्फोटक उपकरणबाट विस्फोट भएको सङ्केत गरेको बताएको छ ।

विस्फोटको लगत्तै पछि, सिरियाली विदेश मन्त्रालयले प्रार्थनाको क्रममा मस्जिदमा भएको विस्फोटको कडा निन्दा गर्दै निर्दोष नागरिकहरूको पिडित भएको जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति मार्फत घटना कायरतापूर्ण कार्य भन्दै यसले मानवता र नैतिक मूल्यमान्यतामा स्पष्ट आक्रमण गरेको र यसले सिरियालाई अस्थिर पार्ने र सिरियाली जनतालाई कमजोर पार्ने बताएको छ ।

मन्त्रालयले पीडित परिवारप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित पीडादायी अवस्थामा सिरियाली जनतासँग पूर्ण एकता व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *