`

लागुऔषधसहित १७ जना पक्राउ, यी हुन् पक्राउ परेकाहरू

Nepal One HD १६ पुष २०८२ १२:३०
अपराध

काठमाडौं– नेपाल प्रहरीले १७ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले नवलपरासी पश्‍चिम , मोरङको विराटनगर, सप्तरी, बारालगायत स्थानबाट पक्राउ परेको हो ।

नवलपरासी पश्‍चिम, सुस्ता गाउँपालिका–३ सेख्वानाबाट लागुऔषध ब्राउनसुगर ३ ग्राम १३० मिलिग्रामसहित २२ वर्षीय अतुल चौधरीसहित दुई जना पक्राउ परेका हुन् ।

चौधरी भारतको कुशीनगर कप्तानगञ्‍ज–११ का हुन् । इलाका प्रहरी कार्यालय बेलटारीबाट खटिएको प्रहरीले उनले चलाएको यूपी ५३ एएक्स ५५९४ नम्बरको कारलाई जाँच गर्दा उक्त पदार्थ फेला परेपछि पक्राउ गरेको जनाएको छ ।

मोरङको विराटनगर महानगरपालिका–११ बसपार्कबाट खैरो हेरोइन १०१ ग्रामसहित ३० वर्षीय पप्पु रामलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सप्तरीको सुरूङ्‍गा नगरपालिका–१ सुस्लिङ टोलबाट नाइट्राजेपाम ५० ट्याबलेट, स्पास्मो प्रोक्सिभन ४० ट्याब्लेट, डाइजेपाम १५ एम्पुल, बुप्रेनोर्फिन १५ एम्पुल र फेनारगन १५ एम्पुलसहित २२ वर्षीय रुपेशकुमार चौधरी पक्राउ परेका छन् ।

उनी उदयपुरको त्रियुगा नगरपालिका–३ रामजानकी टोलका हुन् । मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले प्रदेश–१–०५–००१ प ९०८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाराको सिम्रौनगढ नगरपालिका–३ ब्रह्मस्थानबाट गाँजा करिब १० किलोसहित दुई जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जिल्लाकै पचरौता नगरपालिका–३ रामनगरका ३३ वर्षीय राजकुमार कुशवाहा र २८ वर्षीय पुनदेव पटेल रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगञ्‍ज खजानीबाट खटिएको प्रहरीले ना. ५४ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट खैरो हेरोइन १९५ ग्राम ५ सय ९० मिलिग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–५ का ३४ वर्षीय महम्मद समसिरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले काठमाडौंबाट राजविराजतर्फ जाँदै गरेको बा. ५ ख १९६७ नम्बरको हायस गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

जुम्लाको चन्दननाथ नगरपालिका–६ छिना गाउँका २२ वर्षीय कविन्द्र रावल ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

उनको साथबाट प्रहरीले ४ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले शंका लागेपछि उनको घर तलासी गरेको थियो । त्यस क्रममा प्रहरीले ब्राउनसुगर फेला पारेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी बजारबाट गाँजा ५३ किलो ५७० मिलिग्रामसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

जिल्लाकै राक्सिराङ गाउँपालिका–९ अठारेका ३० वर्षीय हिरालाल प्रजासहित सात जनालाई मंगलबार राति इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७७०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट फेनारगन ३ एम्पुल, डाइजेपाम ३ एम्पुल र बुप्रेनोर्फिन ३ एम्पुलसहित २४ वर्षीय सरोज मगरसहित दुई जना पक्राउ गरेका छन् ।

मंगलबार साँझ प्रहरीले सोही नगरपालिका–१२ का मगर र उनका एक साथीलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लाहानबाट गाईघाटतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०२५० नम्बरको गाडीलाई जाँच गरेको थियो जहाँ उनीहरू सवार थिए । सोही सवारीमा उक्त लागुऔषध फेला परेको हो ।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध लागुऔषध नियन्त्रणसम्बन्धी कानुनका आधारमा अनुसन्धान थालेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *