`

नर्वे शतप्रतिशत विद्युतीय कार बिक्री गर्ने लक्ष्य नजिक

Nepal One HD १८ पुष २०८२ २२:०६
विश्व

सन् २०२५ मा नर्वेले उत्सर्जनरहित कारहरू मात्र बेच्ने आफ्नो लक्ष्यको नजिक पुगेको छ । सन् २०२५ मा नर्वेमा विक्री भएका विद्युतीय सवारी साधनहरूको सङ्ख्याले ९५.९ प्रतिशत हिस्सा ओगटेको तथ्याङ्कले देखाएको छ ।

नर्वे पश्चिमी युरोपको पेट्रोलियम उत्पादनहरूको सबैभन्दा ठूलो निर्यातकर्ता हो तर यसले युरोपेली सङ्घभन्दा वर्षौं अगाडि विद्युतीय सवारी साधनहरूमा परिवर्तनको नेतृत्व गरेको छ ।

सन् २०२५ मा शून्य–उत्सर्जन सवारी साधनहरू बेच्ने गैर–बाध्यकारी लक्ष्य राखेको थियो ।

नर्वेमा सन् २०२५ मा एक लाख ७९ हजार ५४९ व्यक्तिगत सवारी साधनहरू दर्ता भएका छन् र यो सन् २०२१ को अघिल्लो उच्च रेकर्डभन्दा बढी हो ।

डिसेम्बरमा बिक्रीको ९७.६ प्रतिशत हिस्सा विद्युतीय सवारी साधनले ओगटेको ‘नर्वेजियन रोड फेडरेशन (ओएफभी)’ ले शुक्रबार जनाएको छ।

“कार बिक्री परम्परागत रूपमा वर्षको अन्त्यमा धेरै हुन्छ । भ्याट करको परिवर्तनले सन् २०२६ को जनवरीमा धेरै मानिसहरूलाई वर्षको अन्त्यभन्दा धेरै नयाँ विद्युतीय गाडी किन्न प्रेरित गर्नेछ,” ओएफभीका निर्देशक गीर इन्गे स्टोकले एक विज्ञप्तिमा उल्लेख गर्नुभयो ।

नर्वे सरकारले सन्् २०२६ को सुरुदेखि विद्युतीय सवारी साधन किन्दा भ्याट करमा हुने छुटमा पाँच लाख क्रोनर (४९ हजार अमेरिकी डलर) बाट घटाएर तीन लाख क्रोनरमा झार्ने निर्णय गरेको छ ।

सन् २०२७ को लागि सुरुमा योजना गरिएको छुटको अन्त्य सन् २०२८ मा पछाडि धकेल्ने अपेक्षा गरिएको छ ।यो बर्ष टेस्लाले नर्वेली बजारमा आफ्नो अग्रणी स्थान बलियो बनाउँदै कुल दर्ताको १९.१ प्रतिशत हिस्सा ओगटेको छ ।

ओएफभीका अनुसार गत वर्ष नर्वेमा ३४ हजार २८५ नयाँ टेस्ला सवारी साधन दर्ता गरेको थियो । टेस्ला ब्रान्डले यसको संस्थापक एलोन मस्कसँगको विवादको कारण युरोपमा अन्यत्र दखिएकोजस्तो बिक्रीमा गिरावटबाट जोगिएको थियो ।

चिनियाँ कार निर्माताहरूले पनि नर्वेको बजारमा आफ्नो हिस्सा बढाएका छन् । सन् २०२४ मा १०.४ प्रतिशत बिक्री रहेको चिनियाँ कारको हिस्सा सन् २०२५ मा बढेर १३.७ प्रतिशत पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *