रुपन्देही- २ मा रास्वपाबाट सन्तोष गिरीको चर्चा उच्च
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही निर्वाचन क्षेत्र नं. २ का लागि सन्तोष गिरी सम्भावित उम्मेदवारको रूपमा हेरिएका छन् ।
हाल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको सचिवालयमा सल्लाहकारको रूपमा कार्यरत गिरी यसअघि रुपन्देही निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । गिरीले अर्थशास्त्रमा एमए, एलएलबी तथा व्यवसाय प्रशासनमा स्नातक तहको अध्ययन पूरा गरेका छन् ।
अर्थतन्त्र र व्यवसाय क्षेत्रका विज्ञ मानिने गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतिष्ठित मञ्चहरूमा सक्रिय भूमिका पनि निर्वाह गरेका छन् । नीति निर्माण, आर्थिक सुधार तथा संस्थागत विकासका विषयमा गिरीसँग गहिरो ज्ञान र अनुभव छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि नै रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट डा. लेखजंग थापालाई उम्मेदवारको रूपमा घोषणा गरिसकेको सन्दर्भमा सन्तोष गिरीको उम्मेदवारी रुपन्देही–२ बाट हुने सम्भावना अझ बलियो देखिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच विकसित भएको नयाँ राजनीतिक सहकार्यको सन्दर्भमा रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट सन्तोष गिरी उम्मेदवार बन्ने सम्भावना उच्च देखिएको हो ।
स्वच्छ राजनीति, सुशासन र विकासमुखी दृष्टिकोणका साथ सन्तोष गिरी रुपन्देही–२ मा एक सशक्त, जिम्मेवार र विश्वासयोग्य नेतृत्वका रूपमा अगाडि आएको रुपन्देहीको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।
