भक्तपुरमा प्रहरीमाथि नै चक्कु प्रहार, चार आरोपी पक्राउ
काठमाडौं । भक्तपुरमा प्रहरीमाथि चक्कु प्रहार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भई हाल भक्तपुर दुवाकोट बस्ने २६ वर्षीय सागर शंकर सेती, सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका–७ घर भई हाल भक्तपुर ताथली बस्ने २५ वर्षीय सन्तोष दुलाल, सिराहा, सिक्कीपुर नगरपालिका–८ घर भई हाल भक्तपुर ताथली बस्ने २० वर्षीय वीरेन्द्र मलिक र काठमाडौं महानगरपालिका–२७ बस्ने २७ वर्षीय अभय तुलाधर छन् ।
जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार रहेका तथा मोटरसाइकल चोरीमा संलग्न प्रतिवादीहरूलाई नियन्त्रणमा लिने क्रममा भक्तपुरमा एक प्रहरी घाइते भएका थिए । बुधबार अपराह्न ४ः०० बजे भक्तपुर सूर्यविनायक नगरपालिका–१० नालागुम्बा नजिक रहेको रेष्टुरेन्टभित्र घटना भएको थियो ।
अपराध महाशाखाबाट जिल्ला प्रहरी परिसर भक्तपुरमा खटिएको प्रहरी निरीक्षक हेम थपलियाको कमाण्डमा खटिएको ५ जनाको टोलीले अभियुक्तहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी नायब निरीक्षक सञ्जिब केसीमाथि चक्कु प्रहार भएको हो ।
चक्कु प्रहारबाट उनी दाहिने ढाडतर्फ गहिरो चोट तथा छातीमा चोट लागी घाइते भएका थिए । प्रारम्भिक उपचारका लागि उनलाई ख्वपा अस्पताल, च्यामासिंह लगिएको थियो । प्रहरीले उनीहरूले प्रयोग गरेको मोटरसाइकल, एक थान चक्कु पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरू हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
