`

‘हरेक आन्दोलनमा निजी क्षेत्र केन्द्रमा परेका छन्’ – चन्द्रप्रसाद ढकाल

Nepal One HD २६ पुष २०८२ २१:०८
अर्थ समाचार

देवदह (रुपन्देही) – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र निशाना (केन्द्र) मा परेका बताउनुभएको छ । उहाँले निजी क्षेत्रप्रति किन यति नकारात्मक सोच र बुझाइ छ भन्दै प्रश्न गर्नुभयो ।

आज भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ६७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष ढकालले कुनै व्यवसाय सञ्चालन गर्नु भनेको त्यो व्यवसायी÷व्यक्तिको फाइदाका लागि मात्र नभई आमनागरिकका लागि पनि हुने स्पष्ट पार्नुभयो । उहाँले त्यो व्यवसाय फाइदाजनक नभए टिकाउ हुन नसक्ने बताउनुभयो ।

“कुनै उद्योग–व्यवसाय सञ्चालन गर्नु भनेको रोजगारी सिर्जना, राज्य सञ्चालन गर्न राजस्वमा योगदान गर्नु, पूर्वाधार बनाउनु र आमनागरिकले सेवा पाउनु हो भन्ने किसिमको सन्देश दिनुपर्छ । यसबारे आमनागरिकलाई बुझाउनुपर्छ”, अध्यक्ष ढकालले भन्नुभयो ।

उहाँले नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र भने जस्तै महासङ्घले निजी क्षेत्र, औद्योगिक प्रतिष्ठान, कलकारखानालाई हडताल, आगजनी र तोडफोड गर्न नमिल्ने क्षेत्रका रूपमा प्राथमिकतामा राखी योजनाबद्ध रूपमा खाका बनाएर सरकारलाई दिएको जानकारी दिनुभयो । वर्तमान सरकारको मन्त्रिपरिषद्ले यथाशीघ्र यसबारे निर्णय गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

राजनीति गर्नेले राजनीति र जागिर गर्नेले यो धेरै भयो भनेर छोड्न सक्ने भए पनि व्यवसायीले जस्तोसुकै अवस्थामा छाड्छु भन्न नसक्ने उहाँले दाबी गर्नुभयो । “मेरो हकमा भन्नुहुन्छ भने मेरो कम्पनीअन्तर्गत काम गर्ने २० हजार छन् । एक जनाले पाँच जनाको परिवार पालेका छन् । एक लाख मानिस आश्रित छन् । मेरो टाउकोमा अरबौँको ऋण छ । मैले छोडे भने एक लाख रोजगारीको अवस्था के होला ? मैले छोडे पनि बैंकले मलाई छोड्नेवाला छैन”, उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले निजी क्षेत्र नभएको भए के अवस्था हुन्थ्यो होला भन्दै प्रश्न गर्नुभयो । वार्षिक रूपमा सरकारी निकायले तीन हजार ५०० देखि चार हजारलाई रोजगारी दिएको जनाउँदै उहाँले निजी क्षेत्रले ८६ प्रतिशत बढीका लागि रोजगारी सिर्जना गरिरहेको बताउनुभयो । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि आफ्नोतर्फबाट पहल गरिरहने उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा अध्यक्ष ढकालले जोड दिनुभयो । “छोटो समयमा महासङ्घको उचाइ बढेको छ, त्यसलाई निरन्तरता दिन सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने मेरो धारणा छ, यसका लागि यहाँहरूले पनि पहल गर्नुहोला”, उहाँले भन्नुभयो ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले स्थानीय सरकार निजी क्षेत्रका साथमा रहेको बताउनुभयो । उहाँले खुल्ला सीमाको चुनौतीसँगै अवसर पनि रहेको धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले युवापुस्तालाई बेवास्ता गर्दा मुलुकमा समस्या आएको बताउनुभयो । उहाँले मुलुकमा धेरै सम्भावना रहेकाले कम काम गरे पनि धेरै प्रतिफल प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।

उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्रले मुलुकमा स्थायित्व खोजेका बताउनुभयो । उहाँले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले निर्माण भइसकेको विमानस्थल नियमित सञ्चालन नहुँदा निजी क्षेत्र निराश बनेका बताउनुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले निजी क्षेत्रको प्रतिनिधिका रूपमा सङ्घले विगतदेखि राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र विकासमुखी नीतिलाई सरकार तथा राजनीतिक दलहरूको मुख्य एजेन्डा बनाउनुपर्ने माग गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष दिलीपकुमार कान्दु, महासचिव कृष्णप्रसाद घिमिरेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको सङ्घका सचिव मङ्गल भण्डारीले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *