‘म सभापति देउवाको शैली र युवाहरूको जोशको चेपुवामा छु’ (भिडियोसहित)
आज देश आसन्न निर्वाचनको सङ्घारमा छ। केही महिना मात्र भएको छ, जेन्जी आन्दोलनबाट निर्वाचित सरकारको ठाउँमा अनिर्वाचित सुशीला कार्कीको सरकार गठन भएको छ। यस क्रममा संविधान सभाबाट जारी भएको नेपालको संविधान यतिखेर छत्बिच्छत् भएको अवस्थामा छ। आठ दशक अगाडि नेपाली कांग्रेसका संस्थापक नेताहरुले देशको संविधान नेपाली जनताले लेख्छन् भनि नेपालको लोकतान्त्रिक आन्दोलन सुरु गर्नुभएको थियो।
यो गौरवशाली इतिहासको शृंखलाले अनेकन कष्ट, यातना र बलिदान भोग्दै निरंकुश तन्त्रहरुसँग लड्दै लोकतन्त्र र नागरिक सार्वभौमिक सत्ताको शाश्वत सत्यलाई स्थापित गर्न सफल भयो। यतिखेर हामी लगायत सबै राजनैतिक दलहरु त्यही सार्वभौम संविधान, जो नेपालको मूल कानून हो, भावी निर्वाचनमार्फत बचाउने प्रयत्न गरिरहेका छौं।
हामी भाद्र २४ गतेदेखि २७ गतेसम्म घटित अन्योल, अराजकता र संविधानहीनताको त्राशदीपूर्ण अवस्थालाई यति चाडो कसरी बिर्सन सक्छौं र ? नेपाली सेनाको सक्रियतामा राजनीतिक निकास खोज्नुपर्ने र देशको आन्तरिक सुरक्षामा सेना उतार्नुपर्ने असहज अवस्था आइपऱ्यो। हाम्रो यस किसिमको अवस्था पुनरावृत्ति नचाहँदा मात्र हामीले हाम्रा शहीदहरु प्रति न्याय गरेको ठहर छ। के हामी भावी पुस्तालाई फेरि लोकतन्त्रका लागि बलिदान, संघर्ष, यातनाको मध्ययुगीन चरणमा पुगेको नेपाल छाडेर जान अभिशप्त छौं?
हाम्रा आदरणीय नेताहरु, बुद्धिजीवी वर्ग, कानूनवेत्ता, पत्रकार साथीहरु लगायत सबैलाई देशको मूल कानूनको महत्व र कांग्रेसका साथीहरुलाई समेत संविधानहीनताको अवस्थाबारे मैले भनिरहनु नपर्ला, मभन्दा यहाँहरु धेरै मर्मज्ञ हुनुहुन्छ। जेन्जी आन्दोलनबाट उत्पन्न राजनीतिक परिस्थितिमा देशका मूलधारका पार्टीहरुको नेतृत्वबारे नागरिक तहबाट र पार्टीभित्रबाट पनि बहस, छलफल र दबाबहरु सुरु हुनु स्वाभाविक थियो, भयो।
राजनीतिक दलहरुको विफलताले राजनीतिक नेतृत्वमा प्रश्न उठ्यो र यस प्रकरणमा नेपाली कांग्रेसभित्र संगठित प्रयत्नहरु अगाडि आए। नेपाली कांग्रेसको विधानको विकास क्रममा पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक बनाउने अनेकन प्रावधानहरु राखिएका छन्। नेपालको संविधानझैं यहाँ पनि शक्ति पृथकीकरणको मौलिक सिद्धान्तलाई प्रयोग गर्ने कोसिस गरियो। यसको श्रेय निसन्देह पुराना पुस्ताहरुलाई दिनुपर्छ।
यही कारण आज नेपाली कांग्रेसको पदाधिकारीदेखि केन्द्रीय कार्यसमितिमा पनि युवाहरुको सहभागिता रह्यो। कांग्रेसको वैधानिक विकास क्रममा हाम्रा श्रद्धेय नेता बीपी कोइरालाको मेलमिलापवादी भावनाबाट उत्प्रेरित थियो। त्यहाँ सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई मूल मर्म ठानिएको थियो र छ।
कसैप्रति विद्वेष र निषेध थिएन। मैले यिनै मर्मलाई आत्मसात गरेर कांग्रेसभित्र पुस्तान्तरण र हस्तान्तरणको अभियान नै चलाएँ। धेरै युवा साथीहरु मसँग जोडिए। म सधैं कांग्रेस विधि, विधान र नियमसम्मत प्रक्रियाबाट चलोस् भन्ने संघर्षरत रहेँ। मेरो लड्ने तरिका शान्त र मधुरो थियो। मेरा कैयौं शैलीहरुसँग साथीहरु असहमत भएको म बुझ्थेँ। तर पनि, म कांग्रेसको रुपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ।
म यहाँ प्रष्ट भन्न चाहन्छु, मेरो निजी महत्वकांक्षा केही छैन। मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन। यस्ता अवसरहरु आए, तर मैले रुचि देखाएन। त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन। मैले मेरो परिवारबाट पाएको यही शिक्षा मेरो जीवन दर्शन हो र म यही जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु। यस क्रममा मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरुकोको असन्तोषको सामना गर्न परिरहेको छ। जो ऊर्ज़ावान र जोशीलो भएर मेरो अगाडी उपस्थित हुन्छन्।
मलाई थाहा छ, कांग्रेस विधानमा के छ र के हुनुपर्छ। मैले कांग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रुपमै राखेको छु। मैले यो राखिरहँदा कांग्रेसमा कुनै कतै कुनाबाट पनि विभाजनको प्रावधिक र भावनात्मक सन्देश प्रभाव नहोस् भन्ने सतर्क थिएँ। मलाइ यो पनि थाहा छ, कांग्रेस संक्रमणमा पर्दा कसरी र कसले त्याग र अपमान सहन पर्छ भनेर।
म ती सबै सहेर पनि अन्तिमसम्म पार्टी विधानबाट मात्र होइन, कांग्रेसजनको भावनात्मक एकतामा अगाडी बढिरहने छु। बिपीको मेलमिलाप कुनै कानुनको पन्नाबाट निस्केको थिएन, न कांग्रेसको विधान र नेपालको संविधानमा थियो। यो बिपीको अन्तारात्माको आवास थियो, यो नेपाली जनको आवास थियो। म एक्लो भएपनि बिपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरजाबाबु, सुशीलदा लगायत हाम्रा अग्रज नेताहरुले छाडेको पद चिन्हबाट विचलित हुने छैन।
यो पद चिन्ह भनेको कांग्रेसको मौलिक आदर्श, सिद्धान्त हो, जसमा टेकेर नेपालीहरु सार्वभौम भए, स्वतन्त्र भए। के हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको बिगुल ठोक्ने महाधिवेशन गरेर जान सक्दैनौं? के हामीसँग भरोसा र विश्वास गर्ने हाम्रा समर्थक, शुभचिन्तक, साथीहरु र अन्तर्राष्ट्रिय समुदायको पनि हामी एकता बद्ध भएर अगाडी बढेको हेर्न नचाहेका होलान् र? सोचौं हामी।
आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरु, तपाईंहरु पार्टीको धरोहर हुनुहुन्छ। तपाईंहरु विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौं आउनु भएको छ। पार्टीको विधानको कार्यान्वयन गर्ने संकल्प गर्दै हुनुहुन्छ। त्यस विषयमा समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न समेत त्यति नै सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ। यो कार्यका लागि मैले केही दिनदेखि भगीरथ प्रयास गरिरहेको छु। जबसम्म निकास निस्किँदैन तबसम्म म निरन्तर लागिरहनेछु भन्ने प्रण पनि गर्दछु। मेरो दृढ विश्वास छ, एकता बद्ध भएर अगाडी बढ्न सकिन्छ र यो जय नेपालको नाराको गुञ्जनबाट मात्र सम्भव छ भन्ने मलाई लाग्छ, जय नेपाल।
(विशेष महाधिवशेन सुरू हुनुअघि कोइरालाले दिएको भिडियो सन्देशबाट)
