`

राजेन्द्र लिङ्देनले गरे अनसन दमन ! ‘तरुनी’लाई समानुपातिक बन्दसूचीमा राखेको आरोपले लफडा

Nepal One HD २९ पुष २०८२ १२:४८
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र समानुपातिक बन्दसूचीले सिर्जना गरेको विवाद अब सामान्य असहमतिको तह पार गरेर पार्टीको नेतृत्व शैली, आन्तरिक लोकतन्त्र र नैतिक अभ्यासमाथि गम्भीर प्रश्‍न उठाउने बिन्दुमा पुगेको छ ।

सूची सच्याउन माग गर्दै शान्तिपूर्ण आमरण अनसनमा बसेका महिला नेतृहरूलाई बल प्रयोग गरेर हटाइएको घटनाले राप्रपाभित्र अध्यक्ष लिङ्देनको अलोकतान्त्रिक चरित्रको पनि वास्तविकता उजागर गरेको छ ।

लिङ्देन शान्तिपूर्ण ढंगले उठेको आवाजको सम्बोधन होइन, दबाउन उद्धत रहेको देखाएको छ । त्यसो नहुँदो हो त अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्य नानुमाया आचार्य र महिला संगठनकी सचिव चम्फा अधिकारीले समानुपातिक सूची सच्याउन भन्दै गरेको उठाएको माग सम्बोधन गर्थे ।

उनीहरू शुक्रबारदेखि पार्टी कार्यालय धुम्बराहीमा आमरण अनसनमा थिइन् । उनीहरूको माग स्पष्ट थियो– समानुपातिक बन्दसूची सच्याइयोस् ।’

आचार्य र अधिकारीको अनसन केवल दुई महिला नेतृको व्यक्तिगत असन्तुष्टि थिएन । यो पार्टीभित्र लामो समयदेखि दबिँदै आएको असन्तोषको सार्वजनिक अभिव्यक्ति थियो, जसलाई अध्यक्ष लिङ्देनले गम्भीरतापूर्वक लिनुको साटो असहज ठाने ।

अनसनको दोस्रो दिन शनिबार उनले अनसनकारी आचार्य र अधिकारीले ओछ्याएको म्याट तान्दै चेतावनीपूूर्ण रूपमा भने, ‘हट् यहाँदेखि तुरुन्त ।’

लिङ्देन अनसनस्थल पुग्दा अनसनकारी दुई नेतृलाई लागेको थियो – अब संवाद होला र माग सुनुवाइ होला ।’

तर, त्यस्तो भएन । ठिक उल्टो भयो । अधिकारीका अनुसार तत्काल अनसनस्थलबाट हट् भन्दै म्याट तानेर दुव्र्यवहार भयो । दुई दिनपछि सोमबार त अनसनस्थलमा अध्यक्षनिकट महिला नेतृहरूको समूह पुग्यो ।

हुलहुज्जत, गालीगलौज र हातपात गर्दै अनसनबाट जबर्जस्ती हटाइएको उनी बताउँछिन् । सो क्रममा प्रहरीको उपस्थिति थियो र पत्रकारहरूलाई अनसनस्थल पुग्‍न रोक लगाइएको थियो । घटनापछि नानुमाया आचार्य ओम अस्पतालमा उपचाररत छिन् ।

घटनापछि सार्वजनिक भिडियोले विवादलाई अझै उकासेको छ । भिडियोमा नेतृ आचार्यलाई अध्यक्ष लिङ्देननिकट महिला नेतृहरूको समूहले समानुपातिक सूचीमा ‘तरुनी’लाई अवसर कसरी दिए भन्दै गालीगलोजसहित झपारेको देखिन्छ ।

‘हामीजस्तो कार्यकर्तालाई यसले तरुनीको संज्ञा दिएको छ । तैँले तरुनी भन्ने हामीलाई ? ओई तैँलै अस्ति जसरी बोल्थिइस्, अहिले बोल त । तरुनीको आरोप लाउँछस् । तँ बाहिर आइज । …तँ त्यसरी हिँडेकी थिइस् ?’ भिडियोमा थर्कमान गरेको देखिएको छ ।

अनसनरत नेतृ आचार्यले केही दिनअघि सञ्‍चारमाध्यमहरूमा राप्रपाको समानुपातिक सूचीमा आपत्ति जनाउँदै अध्यक्ष लिङ्देनले ‘तरुनी’हरूलाई राखेको आरोप लगाएकी थिइन् ।

यसपछि अध्यक्ष लिङ्देन स्वयं आक्रोशित भएका थिए । उनीनिकट मानिने महिला नेताहरूले पनि सोमबार त्यही विषय उठाउँदै आचार्यलाई दुर्व्यवहार गरेको देखिएको छ ।

राप्रपाको समानुपातिक सूचीप्रतिको असन्तुष्टि केवल महिला नेतृहरूमा सीमित छैन । वरिष्ठ उपाध्यक्ष दिलविकास राजभण्डारीले पार्टी निर्णय प्रक्रियामाथि नै प्रश्‍न उठाएका छन् । समानुपातिक सूचीमा नाम पर्न योगदान र संगठनभन्दा नाटक मञ्‍चन र व्यक्तिगत पहुँच निर्णायक बनेको उनको आरोप छ ।

राजभण्डारीले अघिल्लो निर्वाचनमा पार्टीलाई दिएको ५० लाख रुपैयाँमध्ये ३५ लाख फिर्ता माग्‍नु र पार्टी कार्यालय भवनमा पुनर्विचार गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि समानुपातिक सूची सच्याउन अध्यक्षमाथि दबाब दिएका थिए । खस–आर्य क्लस्टरमा खुस्बु ओलीलाई पहिलो नम्बरमा राखिएको विषयलाई लिएर उनको आलोचना तीव्र छ ।

ओलीको झापास्थित गृहनगर कन्काइ नगरपालिकाको वडा नम्बर–६ मा गत वर्ष भएको उपनिर्वाचनमा राप्रपाको जमानत जफत भएको थियो, उपनिर्वाचनको यो परिणामले खुस्बुको संगठन निर्माणमा योगदान छर्लङ्‍ग पार्छ ।

तर, अध्यक्ष लिङ्देनले उनलाई अस्वाभाविक प्राथमिकता दिएको भन्दै पार्टी पंक्तिमा असन्तुष्टि फैलिएको छ ।

त्यस्तै, आदिवासी महिला क्लस्टरमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी पत्‍नी सरस्वती लामाको नाम पहिलो नम्बरमा राखिएको विषय पनि विवादमा छ ।

यसले समावेशिताभन्दा पारिवारिक पहुँचलाई प्राथमिकता दिएको आरोपलाई बल दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *