`

ओलीकाे क्षेत्रबाट चुनाव लड्ने भनिएका बालेनलाई महेशको कडा जवाफ – स्याललाई काल आयो भने बजार छिर्छ

Nepal One HD २९ पुष २०८२ १५:४६
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्‍नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहविरुद्ध कडा प्रहार गरेका छन् ।

उनले बालेन झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न लागेको सन्दर्भ जोड्दै ‘स्याललाई काल आयो भने बजार छिर्छ’ भन्दै कटाक्ष गरे ।

उनले बालेनलाई लज्जास्पद ढंगले हराएर राजनीतिबाटै बिदा लिने अवस्थामा पुर्‍याउने दाबी गरे ।

‘काठमाडौंमा असफल मेयरका रूपमा जनमत गुमाइसकेको, आफ्नै जन्मथलो महोत्तरीमा समेत राजनीतिक उपस्थिति देखाउन नसक्ने ‘फेसबुकिया प्रधानमन्त्री’ भनेर चिनिने तथा विदेशीको मतियार लुसिफरको उपमा पाएको व्यक्ति अब झापाबाट चुनाव लड्ने चर्चा सुनिएको छ,’ उनले फेसबुकमा लेखे, ‘यदि यो कुरा सत्य हो भने निर्वाचनमा लज्जासपद पराजय भोगेर गायकबाट राजनीतिमा प्रवेश गरेका यो पात्र अब राजनीतिक जीवनबाट बिदा लिएर आफ्नो पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्थामा पुग्‍ने छ ।’

बालेन काठमाडौं महानगरपालिकाका प्रमुख हुनुअघि इन्जिनियर थिए । ओलीसँग प्रतिस्पर्धा गरे पराजित गराउँदै राजनीतिबाट सन्यास लिने स्थितिमा पुर्‍याउने चेतावनी दिएका हुन् ।

बालेनलाई मंगलबार बिहान मात्रै ‘हामी आउँदैछौँ’ भनेर फेसबुकमा लेखेका थिए । उनी झापा–५ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्, जुन क्षेत्रबाट ओली ७ वटा संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेकामध्ये ६ वटामा जित निकालेका छन् ।

झापा– ५ ओली र उनी नेतृत्वको एमालेको बलियो पकड भएको क्षेत्र हो । सोही क्षेत्रबाट यसपटक ओलीलाई पराजित गरेर प्रधानमन्त्रीको बाटो खुला गर्ने मनस्थितिमा बालेन छन् । तर, ओलीलाई त्यहाँ पराजित गर्न बालेनलाई सहज पटक्कै छैन ।

हालै रास्वपाका झापा सभापति प्रकाश पाठक नेतृत्वको प्रतिनिधिमण्डलसँग बालेनले ललितपुरको ज्वागलमा झापा–५ को वस्तुस्थितिबारे जानकारी लिएका थिए । त्यसपछि बालेन हौसिए ।

ओलीले भने औपचारिक प्रतिक्रिया दिएका छैनन् । ओली पछिल्ला निर्वाचनहरूमा निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मतले विजयी नेता हुन् ।

गत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ओली रास्वपा सभापति रवि लामिछानेपछि सर्वाधिक मतान्तरले विजयी सांसद भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *