कांग्रेस १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गगन–विश्वको संकल्प
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार खडा हुने दाबी गरेका छन् ।
कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने विषयलाई अस्वीकार गरेका उनीहरूले कांग्रेस एक्लै निर्वाचनमा जाने बताएका छन् ।
‘आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्दैन र १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्छ,’ नेता विश्वप्रकाश शर्माले बन्दसत्रको हलमा भने । त्यसबेला हुटिङसहित शर्माको प्रस्तावमा सहभागीहरूले समर्थन जनाउँदै हुटिङ लगाएका थिए ।
बुधबार बिहान देउवासँग गगन–विश्वले आठ बुँदे सहमतिको प्रस्ताव अघि सार्दा बिना गठबन्धन कांग्रेसले निर्वाचनको सामना गर्नुपर्ने बुँदा समावेश गरेका थिए । यसमा देउवा सहमत थिए ।
तर, उनी पार्टी सभापति त्याग्न, प्रधानमन्त्रीको उम्मेदवार गगनलाई घोषणा गरेर जान र उम्मेदवारको टिकटमा हस्ताक्षर नगर्न तयार भएनन् । यी तीन सर्तमा सहमति नजुट्दा अन्ततः कांग्रेस दुई फक्लेटो भएको छ ।
यस्तोमा विशेष महाधिवेशनको हलबाट गगन–विश्वले आगामी प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनबिना निर्वाचनमा जाने प्रस्तावलाई अनुमोदन गराएका हुन् ।
कांग्रेसले प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा गठबन्धनसहित चुनावमा गएको थियो ।
गत वर्ष भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा पनि गठबन्धनसहित निर्वाचनमा गएको थियो ।
आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा पनि सभापति शेरबहादुर देउवाले एमालेसँग गठबन्धन गरे । यसप्रति गगन–विश्वको विमती थियो ।
यही पृष्ठभूमिमा विग्रह आएको कांग्रेसमा विशेष महाधिवेशन गरिरहेका गगन–विश्वले कांग्रेसलाई एक्लै निर्वाचन लडाउने भएको हो ।
