`

गायक सुरज पण्डितको मर्मस्पर्शी ‘कालिकोटे काइलो’ सार्वजनिक

Nepal One HD ३० पुष २०८२ १९:२१
मनोरञ्जन

काठमाडौँ । चर्चित गायक तथा संगीतकार सुरज पण्डितको नयाँ सांगीतिक प्रस्तुति ‘कालिकोटे काइलो’ सार्वजनिक भएको छ । नेपमेलोको आधिकारिक युट्युब च्यानलमार्फत यो मार्मिक गीतको भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो कर्णाली र सुदूरपश्चिमको श्रम र बाध्यताको कथालाई प्रस्तुत गरेका छन् । गीतमा सुरज पण्डितकै संगीत रहेको छ भने यसका शब्दहरू मणि थापा र सुरज पण्डितले मिलेर लेखेका हुन् ।

म्युजिक भिडियोले विशेषगरी कामको खोजीमा घरपरिवार र प्रेमीका छोडेर ‘कालापहाड’ जान बाध्य नेपाली युवाहरूको कथालाई समेटेको छ । कर्णालीको परिवेश र त्यहाँको जनजीवनलाई भिडियोमा निकै कलात्मक ढंगले उतारिएको छ । गीतका शब्दहरूले घर छोडेर गएको मान्छे फर्किएर नआउँदा परिवारमा खेल्ने आशंका र पीडालाई अभिव्यक्त गरेका छन् ।

डान्सिङ र ‘हाइ इनर्जी’ भएका गीतहरूमा देखिने चर्चित कलाकार चक्र बम यस भिडियोमा भने निकै गम्भीर र संघर्षशील भूमिकामा देखिएका छन् । उनले एक भरिया र मजदुरको भूमिकालाई पर्दामा जीवन्त उतारेका छन् । भिडियोमा उनलाई अभिनेत्री रोशनी कार्कीले साथ दिएकी छिन् । रोशनी र चक्रको प्रेम र विछोडको अभिनयले दर्शकको मन छुन्छ । भिडियोमा सन्दीप बाबु लोहनीको पनि मुख्य भूमिका रहेको छ ।

यो भिडियोलाई अनुभवी निर्देशक शान थापाले निर्देशन गरेका हुन् । भिडियोको सिनेमाटोग्राफी बुद्ध थापाले गरेका हुन् भने सम्पादन बिबेक सुनारले गरेका हुन् । भिडियोमा देखाइएका दृश्यहरू र कलाकारहरूको हाउभाउले गीतको मर्मलाई अझ प्रष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *